इसराइल र हमासबीच पहिलो चरणको युद्धविरामको समयावधि आज सकिँदैछ।
माघ ५ गते गजामा युद्धविराम घोषणा भएको थियो। तीन चरणमा हुने भनिएको युद्धविरामको पहिलो चरणको शनिबार अन्तिम दिन हो।
पहिलो चरणमा हमासले छाड्ने सम्झौता भएको ३३ बन्धकमध्ये अन्तिम दिन तीन जना छाड्न बाँकी छ। हमासले ८ जनाको शव पनि इसराइललाई दिएको छ।
यसबीच इसराइलले झन्डै १७ सय प्यालेस्टिनी कैदी रिहा गरेको छ। सम्झौता अनुसार इसराइलले ४२ दिनको युद्धविराम अवधिमा २ हजार कैदीलाई जेलमुक्त गर्ने भनिएको छ।
पहिलो चरणको युद्धविरामकै क्रममा दोस्रो चरणको युद्धविरामका लागि छलफल अगाडि बढाउने भनिएको थियो।
तर गजामा दोस्रो चरणको युद्धविराम पहलमा अहिलेसम्म ब्रेकथ्रु नभएको कतारी मिडिया अलजजिराले जनाएको छ।
हमासका प्रवक्ता हजिम क्वासेमले अल अरबी टेलिभिजनसँगको कुराकानीमा दोस्रो चरणको युद्धविरामका लागि कुराकानी अगाडि नबढेको बताएका छन्।
इसराइली र अमेरिकी मध्यस्तकर्ताहरूले बिहीबार इजिप्टको कायरोमा युद्धविरामबारे छलफल गरेपनि निर्णयमा पुग्न नसकेको भनिएको छ। ती मध्यस्तकर्ताहरू पनि वार्ता फलदायी नभएपछि कायरोबाट फर्किसकेको अल जजिराले जनाएको छ।
यसबीच इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले आफ्नो सुरक्षा टोलीसँग छलफल गर्न लागेको बताइएको छ। नेतन्याहुले युद्धविराम सम्झौता गर्नुअघि पहिलो चरणकै अवधिमा दोस्रो चरणको युद्धविराम सम्झौता गरिसक्न मध्यस्तकर्ताहरूलाई भनेका थिए।
दोस्रो चरणको युद्धविराम सम्झौता समयमै नभए नेतन्याहूले गजामा हमासलक्षित आक्रमण गर्ने चेतावनी दिएका थिए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले गजामा युद्धविराम कायम राख्नुपर्नेमा जोड दिएका छन्।
पहिलो चरणको युद्धविरामको ४२ दिनमा गजापट्टीमा १० लाख मानिसहरू फर्केर बसोबास गर्न थालिसकेको राष्ट्रसंघले जनाएको छ।