वासिङ्टन भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार अमेरिकी राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउस पुगेका थिए।
अमेरिकासँग बढ्दो मतभेद अन्त्य गरी सम्बन्ध सुधार गर्ने योजनासहित जेलेन्स्कीले वासिङ्टन भ्रमण गरेका थिए।
तर ह्वाइट हाउसमा भएको छलफलपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ।
ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्पति जेडी भान्ससँग जेलेन्स्कीको भनाभन भयो।
रूसले युक्रेनमाथि गरेको आक्रमण र त्यसलाई रोक्न गरेको प्रयास सरहानीय रहेको भन्दै उपराष्ट्रपति भान्सले त्यसका निम्ति जेलेन्स्कीले धन्यवाद भन्नुपर्ने बताएका थिए।
त्यसपछि तीनै जनाबीच भनाभन भएको थियो।
यो पनिः ह्वाइट हाउसमा ट्रम्प, भान्स र जेलेन्स्कीबीच चर्काचर्की (भिडिओ)
ट्रम्पले जेलेन्स्कीलाई करोडौं मानिसहरूको जीवनमा खेलवाड गरेको र तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाए। जेलेन्स्कीले त्यसको खण्डन गरे।
द्वीपक्षीय छलफलको भिडिओ विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। छलफलका क्रममा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्सले विभिन्न आरोप लगाएपछि जेलेन्स्कीमा असह्यभाव प्रकट भएको भिडिओमा देखिन्छ। उनले ट्रम्प र भान्स दुवैलाई जबाफ फर्काएका थिए।
आफूलाई सर्वश्रेष्ठ नेता दाबी गर्ने ट्रम्प जेलेन्स्कीले प्रत्येक सवालको जबाफ दिँदा थप क्रोधित देखिन्थे। उनले पटकपटक जेलेन्स्कीलाई ‘ठूलो स्वरमा नबोल्न’ भनेका थिए।
दुई राष्ट्रप्रमुखहरूबीचको चर्काचर्कीपछि संयुक्त पत्रकार सम्मेलन पनि स्थगित गरिएको थियो। पत्रकार सम्मेलन स्थगित हुने भनिएपछि ओभलमा उपस्थित पत्रकारहरू ह्वाइट हाउसबाट बाहिरिए।
त्यसपछि अमेरिकी अधिकारीहरूले जेलेन्स्की र युक्रेनी अधिकारीहरूलाई ह्वाइट हाउस छाड्न निर्देशन दिएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको छ।
ह्वाइट हाउस छाड्न भनेपछि जेलेन्स्की निराश मुद्रामा ओभल अफिसबाट बाहिरिएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ। त्यसपछि ह्वाइट हाउसबाहिर पर्खिरहेको गाडी चढेर जेलेन्स्की बाहिरिएका थिए।
ह्वाइट हाउसबाट बाहिरिएपछि जेलेन्स्कीले एक्समा लेख्दै ट्रम्प र अमेरिकालाई धन्यवाद भनेका छन्।
‘तपाईंहरूको सहयोगका लागि धन्यवाद अमेरिका। युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति चाहिन्छ, र हामी त्यसैको लागि काम गरिरहेका छौं,’ उनले लेखेका छन्।
ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा खनिज सम्झौतामा हस्ताक्षर हुने भनिएको थियो। सम्झौताका लागि यसअघि अमेरिकी वित्तमन्त्री स्कट बेसेन्ट र युक्रेनी सहमति गरेका थिए।
त्यसलाई अन्तिम निर्णायक बिन्दुमा पुर्याउनका लागि जेलेन्स्की आफै वाशिङ्टन आउने र सम्झौतामा हस्ताक्षर हुने भनेर ट्रम्पले दाबी गर्दै आइरहेका थिए।
चर्काचर्कीपछि भने खनिज सम्झौता अन्योलमा परेको छ।
ट्रम्प आफैले युक्रेनलाई तर्साएर, धम्काएर र अपमान गरेर जेलेन्स्कीलाई खनिज सम्झौता गर्न बाध्य बनाएका थिए।
यद्यपि जेलेन्स्कीले पटकपटक खनिज सम्झौता गर्न अस्वीकार गरेका थिए।
सम्झौतामा रहेका अन्यायपूर्ण प्रस्तावहरू रहेको र युक्रेनको सुरक्षा ज्ञारेन्टी पनि नगरिएको भनेर जेलेन्स्कीले दुई पटकसम्म सम्झौता अस्वीकार गरेका थिए। ट्रम्पले तेस्रो मस्यौदा पठाएपछि जेलेन्स्की राजी भएका थिए।
त्यसबीचमा ट्रम्पले युक्रेन युद्ध रूसले नभई युक्रेनले थालनी गरेकोदेखि राष्ट्रपति जेलेन्स्कीलाई चुनावबेगरको तानाशाह भनेर अपमान गरेका थिए।
जेलेन्स्कीलाई तानाशाह भन्दा जेलेन्स्कीले जबाफ फर्काएपछि भने ट्रम्प झन् भड्किएका थिए। ट्रम्पले रूसको भाषा बोलेपछि रिसको झोंकमा जेलेन्स्कीले ट्रम्प नियतवश गरिने दुष्प्रचारको फोकामा बाँच्चे गरेको टिप्पणी गरेका थिए।
ट्रम्पले लगाएको आरोप रूसीहरूले नियतवश गर्ने दुष्प्रचार नै भएकाले जेलेन्स्कीको टिप्पणी ठीकै हो। तर पनि देश जोगाउन ट्रम्पप्रति त्यत्रो निर्भरता रहेको बेला जेलेन्स्कीले त्यस्तरी जबाफ फर्काउन हुँदैन थियो भनेर जेलेन्स्कीकै अधिकारीहरूलाई पनि लागेको मिडियाहरूले लेखेका छन्। खासमा जेलेन्स्की पनि ट्रम्प जस्तै झडङ्ग रिसाउने स्वाभावका भएकाले ट्रम्पको झुट सुनेर उनले आवेशमा त्यस्तो प्रतिक्रिया जनाएको मानिन्छ।
ट्रम्पले युक्रेनसँगको खनिज सम्झौतापछि अमेरिकाले ५०० अर्ब डलर पाउने भनेका थिए। यद्यपि मस्यौदामा अमेरिकाले कति पैसा पाउँछ भन्ने उल्लेख नभएको सार्वजनिक भएको थियो।
जर्मन थिंक ट्यांक कियल इन्स्टिच्युट फर वर्ल्ड इकोनोमीका अनुसार अमेरिकाले युक्रेनलाई सन् २०२४ को अन्त्यसम्म एक खर्ब २० अर्ब डलरको मात्रै सहायता दिएको भनिएको छ। यद्यपि ट्रम्पले ५ खर्ब खर्च भएको भनेर दोब्बरभन्दा बढी असुली गर्न खोजेको बताइन्छ।
सम्झौताको तेस्रो मस्यौतामा युक्रेनले भविष्यमा हुने कुनै पनि अमेरिकी सहायताको दोब्बर रकम संयुक्त राज्य अमेरिकालाई फिर्ता गर्नुपर्ने प्रावधान पनि समावेश नभएको न्युयोर्क टाइम्सले लेखेको छ।
मस्यौदामा युक्रेनले खनिजसँगै तेल र ग्यास लगायत प्राकृतिक स्रोतहरूको बिक्रीबाट हुने आम्दानीको आधा हिस्सा एउटा कोषमा जम्मा गर्ने भनिएको छ। त्यो कोषमा जम्मा भएको पैसा युक्रेनकै विकासमा प्रयोग गरिने भनेर यसअघि वित्तमन्त्री स्कट बेसेन्टले बताएका थिए। तर आर्थिक र प्रशासनिक अधिकार चाहिँ अमेरिकासँग हुने उनले खुलाएका छन्।
जेलेन्स्कीले अमेरिकाले खनिज सम्झौताका लागि दबाब दिइरहँदा आगामी दिनमा युक्रेनको सुरक्षा सुनिश्चित हुनुपर्ने जोड दिएका थिए। पहिलो मस्यौदामा त्यो उल्लेख नदेखेपछि जेलेन्स्कीले खनिज सम्झौताका लागि ट्रम्पको प्रस्ताव ठाडै अस्वीकार गरिदिएका थिए।
तेस्रो मस्यौदामा पनि युक्रेनको सुरक्षा ज्ञारेन्टीबारे उल्लेख नभएको न्युयोर्क टाइम्सले जनाएको छ।
अमेरिकालाई खनिजमा स्वामित्व प्रदान गरे त्यो नै युक्रेनका लागि सुरक्षा ज्ञारेन्टी हुने अमेरिकी विदेशमन्त्री मार्को रूबिओले युक्रेनी अधिकारीहरूलाई बताएका छन्।
युक्रेनको खनिज क्षेत्रमा अमेरिकी कम्पनीले काम गर्न थालेपछि रसियाले युक्रेनमाथि आक्रमण गर्न नसक्ने अमेरिकी अधिकारीहरूले भन्दै आएका छन्। तर जेलेन्स्कीले यो तर्कको प्रतिवाद गर्दै भनेका छन्- त्यस्तो हुन्थ्यो भने रूसले पूर्वी युक्रेनमा आक्रमण नै गर्ने थिएन जहाँ युद्धअगाडि धेरै अमेरिकी कम्पनीहरू काम गर्थे।
सम्झौताका अरु सर्त भने सार्वजनिक भएको छैन। ट्रम्पले दाबी गरेको ५०० अर्ब डलर र जेलेन्स्कीले भन्दै आएको सुरक्षा ज्ञारेन्टी दुवै मस्यौदामा नभएको न्युयोर्क टाइम्सले जनाएको छ।
किभ स्कुल अफ इकोनोमिक्सका अनुसार युक्रेनमा दुर्लभ खनिज, प्राकृतिक ग्यास र तेलको एक सयभन्दा भण्डार छन्।
आधुनिक प्रविधि विकासका लागि चाहिने ती दुर्लभ खनिज पदार्थ अमेरिकालाई अहिले प्राय: चीनले आपूर्ति गर्दै आएको छ।
अमेरिकासँगको बढ्दो प्रतिस्पर्धाका कारण चीन र रूसले यी दुर्लभ पदार्थको निर्यातमा रोक लगाए भने अमेरिका लगायत पश्चिमा मुलुकलाई मुस्किल पर्न सक्छ।
यसले आधुनिक हतियारदेखि आर्टिफिसियल इन्टेलिजेन्स लगायत प्रविधि र सर्वसाधारणले प्रयोग गर्ने उपभोग्य वस्तु उत्पादनमा समेत प्रभाव पर्न सक्छ। त्यस्तो सम्भावनाबारे अवगत रहेका ट्रम्पले युक्रेनसँग त्यस्तो सम्झौताको प्रयास गरेका थिए। अब त्यो सम्झौता पनि अन्योलमा परेको छ।