राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिवार बुटवलमा जागरण सभा गर्ने भएको छ।
'अवस्था बदल्न व्यवस्था बदलौं' भन्ने नारा सहित सातै प्रदेशमा जागरण सभा गर्दै आएको राप्रपाले लुम्बिनी प्रदेशको बुटवलमा जागरण सभा गर्ने भएको हो।
बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप कुमार उदयले बुटवलमा हुने जागरण सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहित उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान, महामन्त्री धवल शमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए।
बुटवल ट्राफिक चोकमा हुने जागरण सभाभन्दा अघि बुटवल बसपार्क र आँखा अस्पतालबाट र्याली निकालिने छ।
राप्रपाको भावी कार्यक्रम र देशमा व्याप्त विसंगति, विकृति, भ्रष्टाचारको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको जागरण सभामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट पार्टीका नेता–कार्यकर्ता तथा आम नागरिकको सहभागिता हुने प्रदेश अध्यक्ष उदयले जानकारी दिए।