बंगलादेशका सेना प्रमुख जनरल वाकर-उज-जमानले देश खतरामा रहेको बताएका छन्।
सेनाले आयोजना गरेको एउटा कार्यक्रममा सेनाप्रमुख जनरल उज-जमानले बंगलादेशमा पछिल्लो समय भएका घटनाक्रमले देश खतरामा रहेको बताएका हुन्। त्यसकारण तत्काल राष्ट्रिय एकता र संस्थागत अनुशासन अपरिहार्य रहेको पनि उनले बताए।
'समाजमा निरन्तर र द्रुत गतिमा बढ्दो आन्तरिक कलहले बंगलादेशको सार्वभौमसत्तालाई ठूलो जोखिममा पारेको छ,' उनले भने।
बंगलादेशमा विद्यार्थीहरले सुरू गरेको देशव्यापी प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी थिइन्। अहिले उनी भारतको शरणमा छिन् भने बंगलादेशमा मोहम्मद युनुसको अन्तरिम सरकार छ।
हसिनाको बहिर्गमन र अन्तरिम सरकार गठनपछि बंगलादेश शान्त हुने अनुमान थियो। तर युनुस नेतृत्वको सरकार बनेपछि पनि त्यहाँ प्रदर्शनहरू भइरहेका छन्।
फेब्रअरीदेखि त्यस्तो प्रदर्शनले अझै ठूलो रूप लिएको छ।
राष्ट्रिय एकता आवश्यक रहेको बेला आफू-आफू लड्ने र दोष एक अर्कालाई दिन खोज्दा बंगलादेशको भलो नचाहने र अहिलेको अवस्था नचाहेकाहरूका लागि अनुकूल परिस्थिति बन्ने खतरा रहेको पनि जनरल उज-जमानले बताए।
उनले अहिले बंगलादेशमा अराजकता मौलाएको र त्यसलाई निस्तेज गर्न प्रहरी प्रशासन पनि कमजोर रहेको बताए।
'प्रहरीहरू पनि डराएका छन्। यसअघि आफ्नै साथीहरुलाई विभिन्न मुद्दा लगाइएकाले उनीहरू डराइरहेका छन्। सुरक्षा निकाय कमजोर हुन शान्ति र अमनचयनका लागि खतरा हो,' उनले भने।
राजनीतिक परिवर्तनपछि सबै एकताबद्ध भएर अन्तरिम सरकारलाई सहयोग गर्नुपर्ने उनले बताए। तर आफै आफै लडेर भयानक परिस्थिति सिर्जना गर्न नहुने उनको भनाइ छ।
'म तपाईंहरू (सम्पूर्ण बंगलादेशी) लाई चेतावनी दिन्छु,' उनले भने, ' यदि तपाईंहरू आफ्ना मतभेदहरूभन्दा बाहिर जान सक्नुहुन्न र आपसमा हस्तक्षेप र लडाइँ जारी राख्नुहुन्छ। मर्ने, मार्ने र घाइते बनाउने काम जारी राख्नहुन्छ भने देशको अखण्डता र स्वतन्त्रता जोखिममा पर्नेछ,' उनले भने।
उनले बंगलादेशमा शान्ति र अमनचयनबाहेक आफ्नो अरू आकांक्षा र उद्धेश्य नरहेको पनि बताए। जनरल उज-जमानले हसिनाको बहिर्गमनपछि बंगलादेशको सेना प्रमुखको पदभार ग्रहण गरेका थिए।
बंगलादेशमा पछिल्ला केही महिनाहरूमा हिंसा, तोडफोड, दंगा र अन्य प्रकारका आपराधिक गतिविधिहरूमा वृद्धि भएको छ। फेब्रुअरीसम्म प्रदर्शन चरम सिमामा पुगेपछि सुरक्षा बलले 'अपरेशन डेभिल हन्ट' चलाएको थियो।
उक्त अपरेशनमा ८ हजार ६ सय जना पक्राउ परेका थिए।
सेना प्रमुख जनरल उज-जमानले जबरजस्ती बेपत्ता पार्ने, हत्या गर्ने र नागरिकहरूलाई यातना दिने जस्ता आरोपबारे छानबिन गर्नुपर्ने चेतावनी दिए।
'दण्ड सुनिश्चित गर्नुपर्छ,' उनले भने, 'अन्यथा, हामी त्यही चक्रमा फस्नेछौं।'
उनले बंगलादेशमा चुनाव गर्ने बाटोमै अन्तरिम सरकार रहेकाले सबैले सहयोग गर्नुपर्ने बताए।
बंगलादेशको राजनीतिक उथलपुथल हुँद पटकपटक सेनाले शासनसत्ता हातमा लिएका लामो इतिहास छ।
हसिनाको बहिर्गमनपछि त्यहाँका नागरिहरहरूले सैनिक शासन नस्वीकार्ने भनेर नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वमा सरकार बनाएका थिए।