प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएको अभिव्यक्तिबारे सरकार बोल्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद घर्तीले युएसएआइडी लगायत नेपालमा अमेरिकी सहयोगमा सञ्चालित योजनाहरूमा फ्रड भएको भनेर ट्रम्पले दिएको अभिव्यक्तिबारे सरकार बोल्नुपर्ने बताएका हुन्।
'यो दुई देशबीचको सहमति र सम्झौताअनुसार लागु गरिएको योजनाहरूलाई एकपक्षीय ढंगले अमेरिकाले यसलाई स्थगित गर्नु र फ्रड भन्नु कूटनीतिक मर्यादाविपरीत छ। यसका सन्दर्भमा नेपाल सरकारले बोल्न जरूरी छ। यसबारेमा मुख खोल्न जरूरी छ,' उनले भने।
सांसद घर्तिले नेपालमा सञ्चालित ती योजनाहरूमा फ्रड भएको हो भने छानबिन गर्न पनि माग गरे।
'यदी त्यो फ्रड नै हो भने त्यस्ता संस्थाहरुको संसदीय विशेष छानबिन आयोग गठन गरेर त्यो फ्रडहरू भनेको के हो त्यो छानबिन गरौं,' उनले भने।