जर्मनीमा आइतबार भएको चुनावको एक्जिट पोलहरूले रूढीवादी पार्टी क्रिस्टियन डेमोक्र्याटिक युनियन (सिडियू) पहिलो पार्टी बन्ने प्रक्षेपण गरेको छ।
योसँगै ओलाफ स्कल्जलाई प्रतिस्थापन गर्दै सिडियू नेता फ्रेडरिक मर्ज जर्मनीको नयाँ चान्स्लर बन्ने भएका छन्। आइतबार चुनावपछि एक्जिट पोलहरूले उनको पार्टी पहिलो बन्ने देखाएपछि मर्जले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालिसकेका छन्।
सिडियू एक्लैले बहुमत प्राप्त नगर्ने प्रक्षेपणकाबीच उनले अन्य दलहरूसँग सहकार्यका लागि छलफल सुरू गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
जित हासिल गरेपछि जर्मनीको अर्को चान्सलर बन्ने तयारीमा रहेका मर्जले सरकार गठनको तयारी गर्दै युरोपलाई अमेरिकाबाट 'वास्तविक स्वतन्त्रता' दिन मद्दत गर्ने वाचा गरे।
एक्जिट पोलहरूले सिडियू र यसको भगिनी पार्टी क्रिस्टियन सोसल युनियन (सिएसयू)ले २८.६ प्रतिशत सिट जित्ने प्रक्षेपण गरेको छ।
त्यस्तै उग्र दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी)ले २०.४ प्रतिशत मत ल्याउने प्रक्षेपण गरिएको छ।
अहिले चान्स्लर रहेका ओलाफ स्कल्जको सोसियल डेमोक्र्याटिक पार्टी अफ जर्मनी (एसपिडी)ले १६.३ प्रतिशत मत पाउने प्रक्षेपण गरिएको छ।
त्यस्तै ग्रीन पार्टीले १२.३ प्रतिशत र वामपन्थी पार्टीले ८.५ प्रतिशत सिट जित्ने प्रक्षेपण गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेको एएफडी दोस्रो हुने प्रक्षेपणहरूले देखाएका छन्।
यद्यपि एएफडीलाई सरकारमा सहभागी नगराउने मर्जले तयारी गरेका छन्। एएफडी चरम दक्षिणपन्थी भयो भनेर त्यहाँका सबै पार्टीले बहिष्कार जस्तै गर्छन्। सबै पार्टीले एएफडीसँग मिलेर सरकार नबनाउने भन्ने गरेका छन्।
मतदानअघि ट्रम्पका सल्लाहकार इलन मस्कले एक्समार्फत एएफडीलाई समर्थन गरिएका पोस्टहरू शेयर गरेका थिए।
तिनै मस्कको सहयोगमा अमेरिकामा ट्रम्पले चुनाव जितेका थिए। उनको समर्थनलाई एएफडीकी नेतृ एलिस बिडेलले उपहारका रूपमा लिएको बताएकी थिइन्। टाइम म्यागेजिनसँगको कुराकानी उनले मस्कको समर्थनले उत्साही भएको बताएकी थिइन्।
सन् १०१३ मा एएफडी सरकारी खर्च कटौती, युरोपेली युनियनबाट बाहिरिने एजेन्डासहित स्थापना भएको थियो। यद्यपि संसदमा कमजोर र संसदमा भूमिकाबिहीन थियो।
यसपालि अघिल्लो पटकको तुलनामा उसले दोब्बर मत पाउने निश्चित गर्दै संसदको प्रमुखमध्येको पार्टी बन्ने एक्जिट पोलहरूले बताएका छन्।
जर्मनीमा वर्षौंदेखि सिडियू र एसपिडी मुख्य पार्टी हुन्। एसपिडीले दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा खराब नतिजाको सम्मुखमा रहेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसलाई ओलफ स्कल्जले पनि स्वीकार गरिसकेका छन्।