नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बामपन्थीका नाममा तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना नरहेको बताएका छन्।
प्रेस चौतारी नेपाल बागमती प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले योगदान र भूमिकाको आधारमा व्यक्तिगतरूपमा स्वागत गर्न सकिने बताए।
'बामपन्थीका नाममा जुनसुकै पार्टीसँग एकता गर्दैनौं। बामपन्थी नामले होइन कामको आधारमा हेर्नुपर्छ। राम्रालाई व्यक्तिगत रुपमा पार्टीमा स्वागत गर्छौं,’ उनले भने।
पोखरेलले कांग्रेस-एमालेबीच सहकार्य र प्रतिस्पर्धा दुबै हुने बताए।
नेपालमा भएका हरेक परिवर्तन कांग्रेस र एमालेको सहकार्यमा सम्पन्न भएको उनले बताए।
'कांग्रेस र कम्युनिष्ट बीचको सम्बन्ध मिल्ने पनि प्रतिस्पर्धा गर्ने पनि हो। हरेक परिवर्तन मिलेरै सम्भव भयो। मिलेरै संविधान जारी गरियो। मुलुकमा संकट आउँदा पनि मिलेरै पार लगाइएको इतिहास छ,' उनले भने, 'तर हामी मिल्नेमात्रै होइन प्रतिस्पर्धा पनि गर्छौं। प्रतिस्पर्धी पनि हामी नै हौं।'
कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले स्वतन्त्रताको नाममा संचार संस्थाहरूले आचारसंहितालाई भुल्न नहुने बताए। उनले सरकारले सञ्चार माध्यममा अनुशासन कायम गर्नेगरी सरकारले ल्याएको विधेयकको विरोध गर्नु आवश्यक नरहेको बताए।