नेकपा (एमाले)का सांसद रघुजी पन्तले भारतमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि पनि एनओसी अनिवार्य गर्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसद पन्तले नेपालबाट झन्डै १५ हजार विद्यार्थी पढ्नका लागि भारतमा रहेको र केहीले मात्रै एनओसी लिएको बताउँदै रेकर्डका लागि भएपनि सबैले एनओसी लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन्।
'जसरी बाहिर अरू देशमा पढ्न जाने विद्यार्थीहरूलाई एनओसी आवश्यक हुन्छ। रेकर्ड राख्नका र उनीहरूको सुरक्षाका लागि भारतमा पढ्न जाने प्रत्येक विद्यार्थीको पनि एनओसी लिनुपर्ने अनिवार्य गर्न जरूरी छ,' उनले भने।
सांसद पन्तले किट विश्वविद्यालयमा भएको घटनाबारे संसदमा सम्बन्धित मन्त्रीले जानकारी गराउन पनि माग गरे।
नेपाली विद्यार्थीमाथि भएको आक्रमण र नेपाललाई होच्याउन खोजिएको विषय निन्दनीय रहेको बताउँदै पन्तले फर्किएका विद्यार्थीहरूलाई फेरि पठाउने विषयमा सरकारले गरिरहेको तयारीबारे संसदलाई जानकारी गराउन माग गरेका हुन्।
उनले ५०० जना विद्यार्थी फर्किसकेको र किटमा सुरक्षित पढ्ने अवस्था सुनिश्चित नभएसम्म उनीहरू फर्कने नदेखिएको पनि बताए।
'उनीहरूलाई फर्काउनेबारे सरकारले के सोचेको छ र उनीहरूका लागि सुरक्षित वातावरण बनाउने र अरू कामहरूका बारेमा सम्बन्धित मन्त्री आएर यो हाउसलाई जानकारी दिनुपर्छ,' सांसद पन्तले भने।
पन्तले सकेसम्म विद्यार्थीलाई पढ्नका लागि बाहिर जानुपर्ने अवस्था नआउने व्यवस्था गरिनुपर्ने पनि बताए।
'त्यसका लागि शैक्षिक अवस्था सुधार्ने र के विषय पढ्नका लागि बाहिर जाँदै छन् त्यो विषय नेपालभित्रै पढाइ गर्नका लागि योजना बनाउन सरकारले काम गर्नुपर्छ,' उनले भने।