ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको 'नो केबलकार' समूह र प्रहरीबीच शनिबार साँझ फुङलिङ बजारमा झडप भएको छ।
नो केबलकार समूहले राँके जुलुस निकालेपछि त्यसलाई रोक्न खोज्दा झडप भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार झडपमा आठ जना प्रहरी घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीबाट पनि केही व्यक्ति घाइते भएको उनले बताए।
ताप्लेजुङमा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले राँके जुलुस निकाल्न लागेको सूचना पाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखले फोन गरेर त्यसो नगर्न अनुरोध गरेको उनको भनाइ छ।
'हामीले नो केबलकार समूहका नेताहरूलाई सम्पर्क गरेर राँके जुलुस ननिकाल्नुस् भनेर अनुरोध गर्यौं। राँके जुलुस निकाल्न इजाजत छैन भन्यौं,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने, 'उहाँहरूले हामीलाई छलेर वीरेन्द्रचोकमा कार्यक्रम गर्नुभयो।'
त्यहाँ प्रहरीले सुरक्षा दिइरहेको थियो। केही समयपछि सशस्त्र प्रहरी पुग्यो। लगत्तै आन्दोलनकारीले राँको बाल्न थालेपछि अवस्था बिग्रिएको उनले बताए।
'उहाँहरूले नाराबाजी र जुलुस गर्दासम्म अवस्था ठिकै थियो। राँको बाल्न सुरू गरेपछि भने हामीले नबाल्नुस् भन्यौं। उहाँहरूले प्रहरी र नागरिकका घरहरूमाथि नै राँको प्रहार गर्न थाल्नुभयो,' शर्माले भने।
त्यसपछि प्रहरीले लाठीचार्ज गरेको थियो। अहिले स्थिति सामान्य बनाउन खोजेको उनले बताए।