हमासले थप ६ जना बन्धक छाडेको छ।
शनिबार वेस्ट बैंक र गजाबाट हमासले ६ जना बन्धकलाई रेडक्रसमार्फत इसराइलको जिम्मा लगाएको हो।
शनिबार छाडिएको ६ जना नै इसराइली नागरिकहरू हुन्। ती मध्ये २ जना त दशकौंदेखि हमासको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम-तोभ छन्।
उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै हमासको नियन्त्रणमा रहेको इसराइली अखबार टाइम्स अफ इसराइलले जनाएको छ।
त्यतिबेला उनीहरू समुद्र तटबाट गजा प्रवेश गर्दा हमासले नियन्त्रणमा लिएको थियो।
बाँकी चार जनालाई भने सन् २०२३ को अक्टोबर ७ इसराइलमाथि आक्रमण हुँदा हमासले बन्धक बनाएर गजा पुर्याएको थियो।
उनीहरूलाई हमासले सुपरनोभा फेस्टिबलबाट अपहरण गरेको थियो। चारै जना एउटै परिवारका रहेको पनि बताइएको छ।
हमासले ६ जना बन्धक छाडेको बदलामा इसराइलले ६०२ जना प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्ने तयारी गरेको छ।
योसँगै हमासले ३० जना बन्धक छाडेको छ भने इसराइलले गत सातासम्म १०९९ जना प्यालेस्टिनी कैदीलाई जेलमुक्त गरेको छ।
बिहीबार हमासले चार जना इसराइली बन्धकको शव पनि हस्तान्तरण गरेको थियो। तर चार जनामध्ये एउटा शव बन्धकको नरहेको खुलेको थियो। हमासले सम्बन्धित व्यक्तिको शव पनि हस्तान्तरण गरिसकेको छ। त्यसलाई परीक्षण गर्दा बन्धककै रहेको खुलिसकेको छ।
पहिलो चरणको युद्धविराम अन्तर्गत बन्धक मुक्त गर्ने भनिएको ३३ मध्ये अब तीन जना मात्रै बाँकी रहनेछन्। इसराइलले २ हजार कैदीलाई जेलमु्क्त गर्ने सम्झौता थियो। पहिलो चरणको युद्धविरामको बीचमा दोस्रो चरणको युद्धविराम गर्न मध्यस्तकर्ताहरूले छलफल गर्ने भनिएको थियो।
माघ ५ गते ४२ दिनको पहिलो चरणको युद्धविराम घोषणा भएको थियो।