प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'गोठालो' भनेर आलोचना गर्नेलाई शालिन जबाफ फर्काएकी छन्।
शनिबार काठमाडौंमा आफ्नो आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा शाक्यले सामाजिक सञ्जालदेखि राजनीतिक सहकर्मीहरू समेतले पहिल्यैदेखि प्रधानमन्त्री ओलीलाई 'भैँसी गोठालो' भनेर होच्याउन खोजेको भन्दै त्यसको जवाफ दिएकी हुन्।
उनले गोठालोसँग बिहे गरेकामा आफूलाई गर्व लाग्छ भनेर यसअघि पनि भनेको स्मरण गरिन्।
'त्यतिबेला पनि मैले एक लाइन भएपनि कोरेको थिएँ। कि एउटा भैँसो गोठालोसँग विहे गरेकोमा मलाई ठूलो गर्व लाग्छ भनेको थिएँ।हिजो आज पनि यस्तै कुराहरू कमेन्ट गरेको देख्छु। नेपाल कृषिप्रधान देश हो। हामी सहर पस्नुभन्दा धेरैले खेतबारी जोत्ने, खन्ने पशुपालन छ भने गोठालो जाने, घाँसपात गर्ने काम सबैले थोरबहुत गरेका हुन्छौं,' उनले भनिन्,' मैले जाने अनुसार केपी सरले पनि घाँस काट्नु भयो होला गोठालो पनि हुनुभयो होला अरू काम पनि गर्नुभयो होला। यो त गर्वको कुरा हो नी।'
उनले यो देशका कृषकहरूले तपतप पसिना बगाउँदै आफ्नो खेतबारीमा विभिन्न उत्पादन गरेर सबैलाई दिनरात खाने दाल, भात, तरकारी रोटी उपलब्ध गराईराखेको पनि बताइन्।
'उहाँहरू नभएको भए हामी बाँच्दैनथ्यौं होला। उहाँहरू धेरै धन्यवादका पात्र हुनुहुन्छ,' उनले भनिन्। शाक्यले त्यस्ता लाञ्छना लगाउनेहरूलाई यस्ता नराम्रो कुराहरूमा नरूमल्लिन पनि अनुरोध गरिन्।
शाक्यले प्रधानमन्त्री ओलीलाई अल्छी भनेर आलोचना गर्नेहरुलाई पनि जबाफ दिएकी छन्।
'हिजो बिहानदेखि आज बिहान साढे चार बजेसम्म उहाँ कन्टिनिअसली व्यस्त हुनुहुन्थ्यो। उहाँ कोठामा आउँदा आज बिहान साढे ४ बज्यो। सुत्दाखेरि शायद ५ बज्यो होला। अनी उहाँलाई हामीले सक्रिय भन्ने कि निष्क्रिय भन्ने। आफ्नो आफ्नो परिभाषा होला। मेरो परिभाषा अनुसार उहाँजस्तो सक्रिय मान्छे शायद नेपालमा मात्रै होइन विश्वमा पनि छैन होला,' उनले भनिन्।