गृहमन्त्री रमेश लेखकले संविधानको असफल भए मुलुक गम्भिर संकटमा धकेलिने बताएका छन्।
शनिबार काठमाडौंमा सुदूरपश्चिम कानून समाजले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक भएको दाबी गर्दै वर्तमान व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता भएको बताएका हुन्।
उनले २००४ सालदेखि ७० वर्षमा सातवटा संविधान निर्माण हुनु राजनीतिक अस्थिरताको भुमरिमा रहेको पुष्टि हुने पनि बताए।
'त्यसैले यो संविधान असफल गर्ने छुट कसैलाई छैन । एउटा संविधानको असफलतापछि अर्को संविधानको निर्माणसम्ममा सामानयतया २० वर्ष लाग्ने रहेछ,' उनले भने।
मन्त्री लेखकले ०४७ सालको संविधान २०५२ सालदेखि कमजोर हुन शुरु भएको पनि बताए। '२० वर्षको समय भनेको राष्ट्रका लागि धेरै लामो र महत्वपूर्ण समय हो । यो संविधानको असफलता मुलुकलाई अर्को ठूलो गम्भीर संकटमा पुर्याउँछ,' उनले भने।
उनले पटक पटक संविधान निर्माण गर्नु गलत भएकाले वर्तमान राज्य व्यवस्था र प्रणालीलाई बलियो बनाउनु पर्नेमा जोड दिए।
'धेरै सडक, पुल, विद्यालय बनाउने कुरा असल हुन् तर धेरै संविधान बनाउने कुरा बेठिक हो । धेरै संविधान बनाउने भनेको यो ७० वर्षमा कति राज्य व्यवस्थाको अस्थिरता ब्यहोर्यौं, मापन हो त्यो,' उनले भने।
उनले कानूनी शासन स्थापना गर्नसके मात्रै लोकतन्त्र जीवित रहने बताए।
शासन व्यक्तिले नभइ विधिले गर्छ भन्ने कुराको अग्रणी स्थानमा कानुन व्यवसायी रहेको उनको भनाइ छ ।
गृहमन्त्री लेखकले लोकतन्त्र भनेको अनुशासनको पद्धति भएकाले त्यहाँ कानूनी शासन हुने बताए। उनले संवैधानिक व्यवस्थाअनुसार नै हरेक १० वर्षमा संविधानको पुनरावलोकन गरी दुर्वल पक्षको पहिचान र परिमार्जन गर्नुपर्नेमा जोड दिए।
-न्युज एजेन्सी नेपाल