नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब कांग्रेसले मुलुकको आर्थिक अवस्था सुधार गर्ने बताएका छन्।
विगतमा कांग्रेस नेतृत्वको सरकारले औद्योगिक विकास फराकिलो बनाउँदै लगेको दाबी गर्दै खड्काले अहिले देखापरेको आर्थिक समस्यालाई पनि अब कांग्रेसले नै सुधार गर्ने बताए।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै खड्काले मुलुक अप्ठ्यारोमा परेको बेला कांग्रेसले नै काँध थाप्दै आएको बताए।
पूर्वउपप्रधान तथा रक्षामन्त्री समेत रहेका खड्काले कांग्रेसकै कारण विगतमा आर्थिक सुधार भएको र अहिले पनि केही चुनौतीहरू देखापरेकोले यसलाई पनि कांग्रेसले नै सुधार गर्ने दाबी गरे।
कांग्रेसले विगतमा गरेका काम, भावी योजना र पार्टीको नीति विकास निर्माण केन्द्रित रहेको उल्लेख गर्दै यसलाई जनतामाझ पुर्याएर केही द्विविधाहरू भए त्यसलाई चिरेर सबैको विश्वास जित्नुपर्ने खड्काले बताए।
उनले मुलुकको विकास ढिलो गतिमा भएको स्वीकार गर्दै यसमा आफूहरूको कमीकमजोरी भए सुधार गरेर अघि बढ्नुपर्ने बताए।
नेपाली कांग्रेसले हालसम्म गरेका विकास निर्माण र पार्टीका मुद्दालाई जनताको घरघरमा पुर्याउन प्रशिक्षण आयोजना गरेको हो।
सातै प्रदेशमा दुई सय बढी प्रशिक्षक तयार गरी उनीहरूमार्फत् पार्टीका एजेण्डा मतदाताबीच लैजाने तयारी गरिएको खड्काको भनाइ छ।
उनले पाँच लाख जनजाति सदस्यहरूलाई पार्टी सदस्यता तत्काल दिनुपर्ने बताए। भैरहवामा दुई दिनसम्म चल्ने प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट २ सय जना प्रशिक्षार्थीहरू सहभागी छन्।