राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ४०/५० हजार रुपैयाँ तलबका लागि कुनै पनि युवाले देश छोड्न नपर्ने परिस्थिति निर्माण गर्न सकिने बताएका छन्।
पार्टीको गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको विरोध सभालाई शुक्रबार सम्बोधन गर्दै लिङ्देनले भ्रष्टाचार रोक्ने र देशप्रति इमान्दार हुने हो भने युवाहरू रोजगारीका लागि बाहिर जानु नपर्ने बताए।
‘राजादेखि माओवादीसम्म अटाउने व्यवस्था निर्माण गर्न सकियो, भ्रष्टाचार रोक्ने र देशप्रति इमान्दार हुने हो भने यो देश बन्न धेरै वर्ष लाग्दैन, पाँचदेखि १० वर्षभित्रमा यो देश बनेको हाम्रो आँखा देख्न पाइन्छ,’ उनले भने, ‘संसारभर छरिएर रहेका हाम्रा सबै युवालाई यही देशभित्र फर्काएर ल्याइन्छ भन्ने गफ त म गर्दिनँ, तर ४०/५० हजार तलबका लागि हाम्रो कुनै पनि युवाले देश छोड्नु नपर्ने परिस्थिति यही देशभित्र बनाउन सकिन्छ।’
विदेशमा रहेका नेपालीको सीप र सम्पत्ति तथा स्वदेशमा रहेको जलस्रोत, ऊर्जा, पर्यटन र कृषिजस्ता विषयको उपयोग गरेर नेपाललाई दुनियाँको समृद्ध देश बनाउन सकिने पनि उनले बताए।
उनले अहिलेको व्यवस्थामा परिवर्तन जरूरी रहेको पनि बताए। अध्यक्ष लिङ्देनले अब नयाँ आन्दोलनमा जानुपर्ने पनि बताए।
पार्टीले सातै प्रदेशमा सभा गर्दा पनि दलहरू सच्चिने अवस्था आएन भने काठमाडौं घेर्ने आन्दोलन गर्ने उनको चेतावनी छ। ‘राजधानी काठमाडौं घेर्न बाध्य हुनेछौं,’ उनले भने।