नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकहरूलाई निजामती कर्मचारीसरह सेवा सुविधा दिनुपर्ने बताएका छन्।
नेपाल शिक्षक संघ ललितपुरले बुधबार गरेको कार्यक्रममा बोल्दै महरले भने, ‘शिक्षकलाई निजामती सरहको सेवा सुविधा दिइनुपर्छ। भौतिक पूर्वाधारमा ध्यान दिने, तालिम र परीक्षणमा ध्यान दिने कुरामा राज्य गम्भीर बन्नुपर्छ। गुणस्तर अभिवृद्धिका लागि शिक्षामा २० प्रतिशत बजेट छुट्याइनुपर्छ।’
महरले विद्यालय शिक्षा ऐनलाई हिउँदे अधिवेशनबाट पारित गर्न पनि सरकारसँग माग गरेका छन्। विद्यालय ऐनमा आएका विषयमा सरोकारवालासँग छलफल गरेर उनीहरूको रायलाई पनि स्थान दिएर विधेयक पारित गर्नुपर्ने उनको भनाइ छ।
उनले अधिकार र कर्तव्यको संयोजनले मात्र प्रजातान्त्रिक प्रणाली बलियो हुने बताए।
'२००७ सालदेखि आजसम्म अधिकारका बारेमा ठूला बहस भए। आन्दोलन भए। हामीले संविधान बनायौं। पार्टीका घोषणा पत्र बनायौं। थुप्रै अधिकार स्थापित भए। अधिकारसँगै कर्तव्यको पालनाले मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने कुरालाई ध्यान दिएर कर्तव्य पालनातर्फ लागेनौं,' उनले भने।