युक्रेनमा तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न अमेरिकी र रूसी अधिकारीहरूबीच वार्ता भएको छ।
मंगलबार साउदी अरबको रियादस्थित डिरिया प्यालेसमा साउदी अधिकारीहरूको समेत उपस्थितमा युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल भएको हो।
बैठक साढे ४ घन्टा चलेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। बैठकमा युक्रेन भने सहभागी भएन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेको दुई सातापछि युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा अमेरिका र रूसबीच छलफल भएको हो। साउदी अरबलाई छलफलको मुख्य मध्यस्तकर्ता भनिएको छ।
बैठकमा अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्व दूत स्टिभ विट्कफ छन्। साउदीबाट विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसाद बिन मोहम्मद अल ऐबन थिए भने रूसबाट विदेशमन्त्री सर्गेई लाभ्रोव र पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ सहभागी थिए।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध रोक्ने बैठकमा युक्रेनलाई नै नबोलाइएको भनेर आपत्ति जनाएका छन्। उनले बुधबार साउदी अरब भ्रमण गर्ने भनिएको थियो। तर बैठकमा युक्रेनलाई समावेश नगरेको भनेर उनी रिसाएर भ्रमण एक महिना पछि सारेको रोयटर्सले जनाएको छ।
युद्धका सम्बन्धमा युक्रेनको सहमति विना गरिएका कुनैपनि निर्णय स्वीकार्य नहुने जेलेन्स्कीले बताएका छन्। यद्यपि बैठकले कुन कुन विषयमा छलफल गर्यो र के-के निर्णय गर्यो भनेर सार्वजनिक भएको छैन।
अन्य युरोपेली मुलुकहरूले पनि युक्रेनको प्रत्यक्ष सहभागीता नरहेको बैठकबाट युक्रेनसम्बन्धमा कुनै निर्णय नगर्न चेतावनी दिएका छन्।
जर्मनका चान्स्लर ओलाफ स्कल्जले भने युद्धरत पक्ष नै सहभागी नभएको बैठकले युक्रेन सम्बन्धमा गरिएका निर्णय मान्य नहुने भनेका छन्। 'युक्रेनको विषयलाई लिएर कुनैपनि निर्णय हुनुहुँदैन,' उनले भनेका छन्।
युक्रेनको सहमतिविना कुनै सम्झौता मान्य नहुने भन्ने जेलेन्स्कीको टिप्पणीमा ट्रम्पले आलोचना गरेका छन्।
'मलाई लाग्छ यो युद्ध अन्त्य गर्ने शक्ति मसँग छ र त्यो प्रक्रिया राम्रोसँग अगाडि बढिरहेको छ। जहाँसम्म युक्रनेले आफूलाई नबोलाइएको भनेको छ; उनीहरू तीन वर्षदेखि त्यहीँ छन्, त्यही युद्धमा छन्। उनीहरूले त्यो युद्ध सुरू नै गर्नुहुँदैनथियो, सुरू भएपछि रोक्नका लागि प्रयास गर्नुपर्थ्यो, सम्झौता गर्नुपर्थ्यो,' ट्रम्पले मंगलबार पत्रकारहरूसँग भनेका थिए।
ट्रम्पले पुटिनसँग युक्रेन युद्ध अन्त्य गर्नेबारे भएको कुराकानी जेलेन्स्कीलाई पनि जानकारी गराइएको भनेका थिए।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने युक्रेनलाई साउदी नबोलाइएको बताएका छन्।
यसअघि जर्मनीमा भएको म्युनिख सुरक्षा सम्मेलनका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको साइडलाइन वार्तामा जेलेन्स्कीले साउदीमा हुने वार्तावारे आफू अवगत नभएको जानकारी गराएका थिए।
उनले आफ्ना अन्य रणनीतिक साझेदारहरूसँगको छलफल अगाडि रूससँगको वार्तामा सहभागी नहुने भनेर पनि भान्सलाई जानकारी गराएको रोयटर्सले समाचारमा लेखेको छ।
म्युनिख सुरक्षा सम्मेलनमा भान्सले युक्रेन र रूसबीच युद्ध अन्त्यका लागि हुने वार्तामा युरोपेली मुलुकहरूलाई स्थान नदिइने भनेका थिए।
ट्रम्पले पनि युक्रेन युद्ध अन्त्य गर्ने छलफलमा युरोपेली मुलुकहरू हुनेछैन भन्दै आएका छन्। रूस विरूद्धको युद्धमा युक्रेनलाई सघाउँदै आएका युरोपेली मुलुकहरूले वार्तामा सहभागी नगराउने भनेपछि आपत्ति जनाएको र कुनै पनि निर्णय नगर्न युक्रेनलाई दबाब दिएका छन्।