काठमाडौंस्थित भारतीय दूतावासले कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसबाट उत्पन्न घटनाक्रमका सम्बन्धमा भएका कारबाहीबारे अपडेट गराएको छ।
दूतावासले मंगलबार बेलुकी विज्ञप्ति जारी गर्दै यसबारे ओडिसा सरकारका अधिकारी र केआइआइटीसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ।
विज्ञप्तिअनुसार ओडिसा राज्य सरकारले यस विषयमा जानकारी लिनुका साथै घटनामा संलग्न सुरक्षा गार्डहरूलाई पक्राउ गर्न र गल्ती गर्ने अधिकारीहरूलाई निलम्बन गर्न कदम चालेको छ। त्यस्तै, भुवनेश्वरको प्रहरी आयुक्तालयले अभियुक्त विद्यार्थी अदविक श्रीवास्तवविरूद्ध फौजदारी मुद्दा दर्ता गरिएको र उनलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको जानकारी दिएको छ।
'ओडिसा प्रहरीले वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'ओडिसा प्रहरीले केआइआइटीका सुरक्षाकर्मीहरूले विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारबारे ध्यान दिनुका साथै उनीहरूमाथि फौजदारी मुद्दा दर्ता गरेको छ।'
ओडिसा राज्य सरकारले केआइआइटीलाई सूचनामा राखेको र गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको पनि विज्ञप्तिमा छ। उच्चस्तरीय समितिको निष्कर्षका आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिनेछ।
विद्यार्थीहरूविरूद्ध भएको दुर्व्यवहारको रिपोर्टमा पनि अनुसन्धान भइरहेको छ। जिम्मेवार व्यक्तिहरूलाई कानुनअनुसार जवाफदेही बनाइने विज्ञप्तिमा उल्लेख छ।
ओडिसा प्रहरीले नेपाली विद्यार्थीहरूको निम्ति सातै दिन २४ घन्टे हेल्पलाइन नम्बर (+९१-८२८०३३८३०१) साझा गरेको छ, जसमा सहयोगको आवश्यकता परेका नेपाली विद्यार्थीहरूले सम्पर्क गर्न सक्नेछन्।
'ओडिसा सरकारले नेपालीसहित सबै विद्यार्थीको सुरक्षा, मर्यादा र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र छिटो र निष्पक्ष रूपमा न्याय प्रदान गर्न आवश्यक सबै कदम चाल्नेछ,' विज्ञप्तिमा छ।
त्यस्तै, केआइआइटीलले 'अनिश्चितकालीन' आदेश फिर्ता लिएको छ। नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्कन र आफ्नो कक्षा पुनः सुरू गर्न अपिल गरेको छ। नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्कन सहज बनाउन क्याम्पसमा नियन्त्रण कक्ष पनि स्थापना गरिएको छ।
दूतावासका अनुसार केआइआइटीले दुई सुरक्षा गार्डको सेवा खारेज गरेको छ। दुई वरिष्ठ छात्रावास अधिकारीहरूलाई निलम्बन गर्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ अधिकारीलाई अनुसन्धानका लागि सोधपुछ गरेको छ।
केआइआइटीका उपकुलपतिले आफ्ना कर्मचारीको टिप्पणी र व्यवहारका लागि खेद व्यक्त गर्दै सार्वजनिक माफी मागेका छन् र सबै नेपाली विद्यार्थीलाई नियमित शिक्षामा सामेल हुन अपिल गरेको पनि विज्ञप्तिमा छ।
'भारत सरकारले भारतमा रहेका नेपाली विद्यार्थीहरूको कल्याण सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्नेछ,' विज्ञप्तिमा उल्लेख छ।
यी पनि पढ्नुहोस्-