परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा नेपाली विद्यार्थीको अवस्था बुझ्न नेपाल प्रहरी पुगिसकेको बताएकी छन्।
परराष्ट्र मन्त्री राणाका अनुसार भारतस्थित नेपाली राजदूतावासबाट दुई जना प्रहरी मंगलबार बिहान किटमा पुगिसकेका छन्। ती प्रहरीहरूसँग आफूले कुराकानी गरेको र घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न भनेको परराष्ट्र मन्त्रीको भनाइ छ।
किटमा पढ्ने नेपालकी प्रकृति लम्सालको गत आइतबार मृत्यु भएको थियो। यसपछि भएका घटनाक्रमबारे परराष्ट्र मन्त्रालयले निरन्तर रूपमा फलोअप गरिरहेको पनि उनले उल्लेख गरेकी छन्।
‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी मंगलबार बिहानै विश्वविद्यालय पुग्नुभएको छ,’ परराष्ट्र मन्त्री राणाको भनाइ छ।
यस्तो छ परराष्ट्र मन्त्रीको भनाइ:
भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई हामीले निरन्तर रुपमा फलो अप गरिरहेका छौं।
नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी मंगलबार बिहानै विश्वविद्यालय पुग्नुभएको छ।
मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु।
यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ। सोमबारको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराएको छ।
यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन तथा भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन्।
यो पनि: प्रकृति लम्साल मृत्यु घटना: आड्भिक श्रीवास्तवको फोन जफत, पठाइयो न्यायिक हिरासतमा