सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले दादागिरी देखाएको आरोप लगाएका छन्।
सिंहदरबारस्थित कार्यकक्षमा सेतोपाटीसँगको कुराकानीमा सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठकमा बोल्न समय माग गर्दा सांसद श्रेष्ठले आफ्नो कार्यकक्षको टेबल ठटाएर समय माग गरेको बताए।
संसदको बैठक बस्न जनाउ घण्टी बजिसकेको अवस्थामा सांसद सुमनाले आफ्नो कार्यकक्ष आएर बैठकमा बोल्न आकस्मिक समय माग गरेको घिमिरेले बताए।
‘म संसद भवनमा सधैं ३० मिनेटअघि नै पुगेको हुन्छ तर उहाँले घण्टी बजेपछि आएर परिवेश के हो भन्ने नबुझी दादागिरी देखाएर टेबल ठोकेर मलाई समय चाहियो भन्नुभयो,’ सभामुख घिमिरेले भने, ‘उहाँले केआइआइटीको विषय छ भारतीय मिडियामा आएको छ भन्नुभयो। मैले के विषय हो, परराष्ट्रमा पनि बुझ्नुहोस् भने।'
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद श्रेष्ठले आकस्मिक समय माग गरेकी थिइन्। तर सभामुख घिमिरेले समय दिएका थिएनन्।
सभामुख घिमिरेले सांसद श्रेष्ठले राख्न खोजेको विषय समय लाग्ने देखिएका कारण आफूले अर्को दिन विषय उठाउन आग्रह गरेको पनि बताए।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि सभामुखलाई भेटेर सांसद सुमनालाई समय दिन आग्रह गरेका थिए। तर सभामुख घिमिरेले रास्वपाबाट अशोक चौधरीलाई समय दिइएको उल्लेख गरेका थिए।
यो पनि: गल्ती सभामुखको कि सुमनाको?
सभामुख घिमिरेले रास्वपा सांसदहरूले संसदीय प्रक्रियालाई विवादित बनाउन खोजेको आरोप पनि लगाएका छन्।
फरक प्रसंग उल्लेख गर्दै सभामुख घिमिरेले रास्वपाकी सांसद सोबिता गौतमले पास भइसकेको विधेयकमा विरोध गर्न खोजेको भन्दै उनले आपत्ति जनाए।
'दलकै सहमतिमा पास भएको विषयमा पछि विवादित बनाउन खोज्नुभयो,’ घिमिरेले भने, 'मलाई तानाशाही भएको आरोप लगाइयो। उहाँहरुलाई जनताले छानेको निरंकुश नहुने। अनि म जनताले छानेका सांसदले छानेको व्यक्ति निरंकुश हुने?'
सभामुख घिमिरेको सचिवालयले पनि सांसद सुमना र सोबिताले सभामुखलाई लगाएको आरोपबारे खण्डन गरेको छ।
सांसदले आकस्मिक समय माग गर्दा सभामुखले पहिले के बोल्न लागिएको छ भनेर थाहा पाउन खोज्ने र बोल्न पाउने कुरा सभामुखकै छनोटमा सीमित हुने रास्वपा सांसद सोबिताले उल्लेख गरेकी छन्।
‘संसद भनेको विचारको खुला मञ्च हो, तर किन सभामुख आफैंले यसलाई घेराबन्दी गर्न खोज्नुहुन्छ मैले बुझेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा सोमबार पोस्ट गर्दै उनले भनेकी छन्, ‘संसदभित्रको आवाजलाई नियन्त्रण गर्नु भनेको लोकतन्त्रको श्वास रोक्नु हो। यदि सभामुखले यो व्यवहार जारी राखे स्वतन्त्रता बन्धनमा पर्नेछ र प्रतिरोधको स्वर अझ चर्को भएर गुञ्जिरहनेछ।’
उनले संसदमा सरकारले समितिको प्रतिवेदनमा संशोधन हालेर गलत नजिर बसाएको विरोधमा आफूले बोल्न चाहे पनि सभामुखले समय नदिएको उल्लेख गरेकी छन्।