भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर पढाइ सुरू गर्न र छात्रावासमै बस्न अपिल गरेको छ।
यसअघि नेपाली विद्यार्थीहरूलाई छात्रावासबाट निकालिएको घटनामा आफूबाट गल्ती भएको कलिंगा इन्स्टिच्युडले स्वीकार गरेको छ।
छात्रावास छाडेर बाहिर बसिरहेका नेपाली विद्यार्थी फर्काउन बस पठाइएको काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीले जानकारी दिए।
भारतीय दूतावासले उडिसा घटनाबारे सोमबार राति विज्ञप्ति जारी गर्दै कलिंगा इन्स्टिच्युडका अधिकारी र उडिसा राज्य सरकारसँग आफू सम्पर्कमा रहेको जनाएको छ।
उक्त इन्स्टिच्युडमा नेपाली विद्यार्थीको मृत्यु भएको घटनाबारे स्थानीय अधिकारीहरूले अनुसन्धान सुरू गरेको पनि दूतावासले जानकारी दिएको छ।
'भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष हुन्,' दूतावासले भनेको छ, 'भारत सरकारले भारतमा नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्नेछ।'
कलिंगा इन्स्टिच्युडले नेपाली विद्यार्थीहरूलाई शैक्षिक रूपमा परेको क्षतिको जिम्मेवारी लिने आश्वासन पनि दिएको विज्ञप्तिमा छ।
कलिंगा इन्स्टिच्युडले पनि नेपाली विद्यार्थी फर्काउनमा सहजीकरण गर्न एक विशेष 'कन्ट्रोल रूम' स्थापना गरेको जानकारी दिएको छ। इन्स्टिच्युडले सामाजिक सञ्जालमार्फत् दिएको सूचनाअनुसार उक्त कन्ट्रोल रूम साताभरि चौबीसै घन्टा खुला रहनेछ।
त्यस्तै, नेपाली विद्यार्थीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन २४ घन्टे हेल्पलाइन सेवा पनि सुरू गरिएको छ।
'नेपाली विद्यार्थीहरूको सुरक्षामा हामी प्रतिबद्धता व्यक्त गर्छौं,' इन्स्टिच्युटले भनेको छ।
कलिंगा इन्स्टिच्युटमा अध्ययनरत रूपन्देही घर भएकी २० वर्षीया प्रकृति लम्साल आइतबार साँझ छात्रावासमा मृत भेटिएपछि विवाद उत्पन्न भएको थियो।
उनी कलिंगा इन्स्टिच्युटमा बि-टेक तेस्रो वर्ष अध्ययनरत थिइन्। भारतीय सञ्चार माध्यमहरूले प्रहरीको प्रारभ्मिक अनुसन्धानबाट उनको मृत्यु शंकास्पद देखिएको बताएका छन्।
उक्त घटनामा प्रहरीले एक जना छात्रलाई पक्राउ गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ। पक्राउ पर्नेमा प्रकृतिकै सहपाठी एडविक श्रीवास्तव छन्।
नेपाली विद्यार्थीहरूले यसको विरोधमा प्रदर्शन गरेपछि उनीहरूलाई छात्रावास छाड्न भनिएको थियो। यो घटना सार्वजनिक भएलगत्तै दुवै देशबाट समाधान निम्ति कूटनीतिक पहल सुरू गरिएको थियो।
दिल्लीस्थित नेपाली दूतावासले सोमबार दिउँसो उडिसा घटनाबारे विज्ञप्ति जारी गर्दै 'नेपाली विद्यार्थीहरूलाई शैक्षिक संस्थाको छात्रावासमा बस्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको र त्यसैअनुसार शैक्षिक संस्थाले व्यवस्था गरेको' जनाएको थियो।
दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिसँग छलफल गरेको विज्ञप्तिमा उल्लेख छ।
'दूतावासले उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो। नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो,' विज्ञप्तिमा भनिएको छ, 'दूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी यस दूतावासलाई गराएको छ।'
प्रकृति लम्सालको मृत्युका सम्बन्धमा निष्पक्ष अनुसन्धानमा जोड दिएको र संस्थाले त्यसलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा छ।