कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको बताएका छन्।
सोमबारदेखि सुर्खेतमा सुरू कर्णाली उत्सवको छैटौं संस्करणलाई सम्बोधन गर्दै उनले कर्णाली समस्यै समस्याको खाल्डो मात्र नभई सम्भावनाको सरोवर समेत भएको बताए।
मुख्यमन्त्री कँडेलले पछिल्लो पटक संघीय सरकारले कर्णालीका केही महत्वपूर्ण सडकको स्तरोन्नतिको लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको बताए।
‘कर्णालीको भविष्यसँग जोडिएका कर्णाली करिडोर, भेरी करिडोर, गमगढी नाक्चेनाङ्गला सडकजस्ता रणनीतिक महत्वका सडकहरूको स्तरोन्नति र सुधारमा उल्लेख्य बजेट विनियोजन भएर काम अगाडि बढ्न थालेको छ,’ उनले भने, ‘अनियमित विद्युतलाई नियमित गर्न १३२ केभी विद्युत प्रसारण लाइन र सुर्खेत विमानस्थललाई स्तरोन्नति गर्ने काममा केही नीतिगत निर्णय र सुधारका कामहरू भएका छन्।’
मुख्यमन्त्री कँडेलले कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार रहेको बताए।
कर्णालीमा सम्पदा र स्रोत पर्याप्त हुँदाहुँदै पनि दुर्गम, अभाव र विकटताको पहिचान बोक्नु कर्णालीका लागि दु:खद् भएको मुख्यमन्त्री कँडेलले बताए।
वर्षौंदेखि बनाइएको रोग, भोक र शोकको नकारात्मक बिम्बले कर्णालीलाई थिचिरहेको उनले बताए।
पूर्वाधार, पहुँच, जागरण र सुधारका सूचकहरूले कर्णाली परिवर्तन भइसकेको उनको भनाइ छ।