कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि कुटपिट भएको छ।
सोमबार बिहान ४ बजे प्रादेशिक अस्पतालमा डा. वेदप्रकाश पन्तमाथि आक्रमण भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराका अनुसार डा. पन्तको मुखमा सामान्य चोट लागेको छ भने उनको चस्मा भाँच्चिएको छ।
कुटपिट गर्ने धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई नियन्त्रणमा लिइएको डिएसपी बोहराले जानकारी दिए।
रानाको बुवा ४६ वर्षीय रमतर रानाको सोही अस्पतालको आइसियूमा उपचार भइरहेको थियो। कृष्ण कुरूवा बसेका थिए।
बिहान डा. पन्त बिरामी चेकजाँच गरेर फर्किँदै गर्दा उनीमाथि आक्रमण गरेको डिएसपी बोहराले जानकारी दिए।
आक्रमण गर्ने कृष्णको मानसिक अवस्था कमजोर रहेको पाइएको पनि डिएसपी बोहराले जानकारी दिए।
घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।