नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको बताएका छन्।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौति दिए।
‘केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ। झन्डिएको छ। यो कसको कारणले हो ? हाम्रो कारणले हो। यो हेक्का होस् सबैलाई,' उनले भने।
उनले आफ्नै पहलमा नेकपा (माओवादी केन्द्र) सँग छलफल गरी अन्य राजनीतिक दलहरुलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताए।
'प्रचण्डजीले तपाईंले भुमिका खेल्नुस् भन्नुभयो। किनभने मान्छेको पनि बोली बिक्दछ। त्यसपछि बैठकहरु बोलाइयो। बोलाएर साझा वक्तव्य निकाल्यौँ। पत्रकार सम्मेलन गरेर अध्यादेशहरुको बारेमा चुनौति दिँदै यदी यसलाई रोक्ने काम गरेनौ भने संसदको विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौँ भनेर भित्रभित्रै हस्ताक्षर गर्ने काम गरेका थियौं,' उनले भने।
अध्यक्ष नेपालले अहिले पनि संसद भंग गर्न प्रयत्न भइरहेको पनि बताए। (न्युज एजेन्सी नेपाल)