नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा डा. रिजालले समावेशीतालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका हुन्।
उनले कुनैपनि पार्टीको बहुमतबिना राजनीतिक स्थायित्व र उत्तरदायित्वको कल्पना गर्न नसकिने बताए।
निर्वाचन प्रणालीकै कारण ७४ को निर्वाचनमा नेपाली काँग्रेसले ३३ प्रतिशत मत पाएपनि जम्मा २३ सिट जितेको जिकिर गरे। उनले ७८ को निर्वाचनमा २६ पतिशत मत पाएपनि गठबन्धन गरेको कारण प्रत्यक्षमा ५७ सिट जितेको गरे।
'०७४ को चुनावमा हामीले प्रत्यक्षमा गठबन्धनका कारण पाएको मत सबै आफ्नो भन्न मिलेन । समानुपातिकमा हामीले ३३ प्रतिशतभन्दा बढी मत पायौँ तर प्रत्यक्षमा हामीले २३ सिट जित्यौँ । अहिले हाम्रो सात प्रतिशतले मत घटेको छ,' उनले भने।
उनले २०१५ सालदेखि कुनैपनि पार्टीले ३८ प्रतिशतभन्दा बढी मत नल्याएको भन्दै बढी मत आएन भन्दैमा स्थिरता हुँदैन भन्ने तर्क गर्न बताए।
'नेपाली काँग्रेस पूर्ण प्रत्यक्ष निर्वाचन प्रणालीमा हुनुपर्छ भन्ने पक्षमा होइन । १६५ निर्वाचान क्षेत्र कायम गर्दा ६० क्षेत्र समानुपातिक गरौँ । सजिलै चुनाव जितेर आउने मान्छेलाई समानुपातिकमा ल्याउनु हुँदैन । जसलाई निर्वाचन जित्नलाई कठिनाइ छ त्यो समुदाय आउने बाटो बन्द हुँदैन,' उनले भने।
रिजालले ०७२ देखि तीन नेता पालैसँग प्रधानमन्त्री भएर तीन नेता एउटा पार्टी र बाँकी अर्को पार्टी जस्तो भएको बताए।
उनले यस्तो अवस्था आउनुमा को जिम्मेवार छ भन्ने टुङ्गो लगाउन पनि निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक भएको जिकिर गरे। (न्युज एजेन्सी नेपाल)