राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले इमानदारिताका साथ संविधान संशोधन गर्ने हो भने सरकारलाई रास्वपाको साथ रहने बताएका छन्।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले कसैले परिकल्पना गरेको कुरा लागू गर्नकै लागि भने संविधान संशोधनस्वीकार्य नहुने बताएका हुन्।
'विश्वास त छैन। सात बुँदामध्ये २ नम्बर बुँदामा संविधान संशोधन राखेर नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन बन्यो। इमान्दारिताका साथ गर्न खोजेको हो भने हामीले त्यसलाई स्वीकार गरेका छौँ,' उनले भने।
उनले संविधान निर्माण गरिरहँदा प्रत्येक १० वर्षमा यसको पुनरावलोकन गर्ने विषय समेटिएको तर संविधान नै पूर्ण कार्यान्वयन हुन नसकेको बताए।
उनले राजनीतिक संस्कार स्थायी हुँदा दुई तिहाई बहुमत ल्याउन निर्वाचनले कुनैपनि राजनीतिक दललाई नरोकेको बताउनु भयो।
'२०१५,२०४८,२०५६ साल, २०७४ सालसम्म बहुमतको सरकार थियो। ती टिकेकनन्। कुनैपनि टिकेनन्। बरु नभएका सरकारहरु टिकेका छन्। कतिमा त संसद नै पनि खाइदिए। हाम्रो प्रवृत्ति स्थायी छैन। राजनीतिक संस्कार स्थायित्व छैन, कोही पार्टीहरुलाई चाहियो भनेर स्थायित्व जबरजस्ती हुँदैन,' उनले भने। (न्युज एजेन्सी नेपाल)
उनले संविधान संशोधन गर्नुपर्ने तर पार्टी र व्यक्तिको प्रवृत्ति र चरित्र बदल्नुपर्ने बताए।
'व्यक्तिको पनि संविधानतः चरित्र हुनुपर्छ, समावेशी हुनुपर्छ। संविधानले परिकल्पना गरेको कुरा केही पनि नगर्ने अनि आफूले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन गर्नुपर्ने ? सबैभन्दा खतरनाक कुरा यो हो,’ उनले भने।