उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावनाअनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताएका छन्।
शनिबार बुटवल उपमहानगरपालिकाको ६६औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशोधन र ऐन बनाउनका लागि नै अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर अहिले सरकार बनेको बताए।
उनले नागरिकको जीवन सहज बनाउने गरी सहरलाई अघि बढाउनुपर्ने पनि बताए।
बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको र धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेका बताए।
आर्थिक गतिविधि मात्र होइन बुद्धजन्मस्थल लुम्बिनीदेखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने उपप्रधानमन्त्री सिंहको भनाइ थियो। उनले मापदण्ड पुगेमा बुटवल उपमहानगरबाट महानगरपालिका बन्न सक्ने सम्भावना रहेको पनि बताए।
उपप्रधानमन्त्री सिंहले लौह पुरूष गणेशमान सिंह जेल ब्रेक गरेर बुटवल पुगेको सन्दर्भ चर्चा गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा बुटवलको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे।
उनले बुटवलको विकासका लागि शहरी विकास मन्त्रालयमार्फत गर्न सकिने काम भइरहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए।