हमासले शनिबार बन्धकमुक्त हुने तीन जनाको सूची इसराइललाई दिएको छ।
इसराइलले युद्धविरामका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै योपटक बन्धक रिहाई केही ढिला गर्ने जानकारी यसअघि हमासले गराएको थियो।
त्यसपछि हमासले सम्झौता अनुसार बन्धक रिहा नगरे वा रिहा गर्न ढिलाई गरे गजामा आक्रमण गर्ने धम्की इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले दिएका थिए।
यसले इसराइल हमासबीच १५ महिनापछि रोकिएको युद्ध पुनः सुरू हुने त्रास पैदा भएको थियो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कतारी र इसराइली मध्यस्तकर्ताहरुको लगातार प्रयासका कारण हमासले शनिबार निर्धारित समयमै बन्धक रिहा गर्न लागेको हो।
शनिबार रिहा हुने तीनै जना बन्धक पुरूष छन्।
बन्धक मुक्त हुनेको सूचीमा रूसी मूलका इसराइली नागरिक २९ वर्षीय अलेक्जेन्डर ट्रुफेनभ, अमेरिकी मूलका इसराइली ३६ वर्षीय डेकेल चेन र अर्जेन्टिनी मूलका इसराइली ४६ वर्षीय लाइर हर्न छन्।
हमासले तीन जना बन्धक रिहा गरेपछि इसराइलले ३६९ प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ।
माघ ६ गतेदेखि सुरू भएको युद्धविराममा हमासले अहिलेसम्म २१ जना बन्धक रिहा गरिसकेको छ। पहिलो चरणमा ३३ जना बन्धकलाई छाड्ने सम्झौता थियो।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नै बाँकी रहेका सबै बन्धकहरू छाड्न चेतावनी दिएका थिए। उनले हमासले बाँकी रहेका सबै बन्धक शनिबार नछाडे विध्वंश हुने भनेका थिए।
त्यसपछि इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले पनि शनिबार हमासले बन्धक नछाडे आक्रमण गर्ने चेतावनी दिएका थिए।
अमेरिकी राष्ट्रपतिको धम्की र इसराइली प्रधानमन्त्रीको चेतावनीले युद्धविराम भंग हुने र गजामा बन्धक भएका आफ्ना प्रीयजन नफर्किने त्रास फैलिएको थियो।
बन्धकका परिवार र आफन्तसहितका इसराइलीहरूले गजाबाट बन्धनमुक्त गर्न सरकार लचक हुनुपर्ने र सम्झौतै गर्नुपरे पनि पछि हट्न नहुने भनेर तेल अभिव लगायतका क्षेत्रहरूमा प्रदर्शन भएको थियो।
शनिबार बन्धकमुक्त हुने भएपछि त्यो खतरा टरेको अनुमान गरिएको छ। र अब छिट्टै दोस्रो चरणको युद्धविराम पहल गर्न मध्यस्तकर्ताहरू सक्रिय हुने बताइएको छ।