नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना भइरहेको छ।
माघ २९ गते राति अबेर मतदान सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन।
पहिले केन्द्रीय सदस्य र त्यसपछि पदाधिकारीको मत गणना भएको हो।
अध्यक्ष पदमा बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा भएको थियो भने महिला उपाध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका थिए।
बाँकी ७० पदका लागि चुनाव भएको थियो।
अध्यक्ष पदमा भट्टराई निकै अगाडि छन् भने चापागाईंले उनलाई पछ्याइरहेका छन्। कास्कीका चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन्। उनले शैक्षिक क्षेत्र सुधारका अभियान चलाइरहेका थिए।
भट्टराईलाई निर्विरोध अध्यक्ष नछाड्ने भन्दै उनले अध्यक्षमा उम्मेदवारी दिएका थिए।
नेसपा (नयाँ शक्ति) का नेता कृष्ण शर्माका अनुसार महाधिवेशनमा १३२४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मत खसेको थियो।
त्यसमध्ये बिहीबार दिउँसोसम्म आधा मत गनिसकिएको छ। गणना गरिएको मतमध्ये ९५ प्रतिशत भट्टराईको पक्षमा छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार अपराह्न ५ बजे नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथग्रहण गराउने तयारी नेसपा (नयाँ शक्ति) को छ।