ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको ‘नो केबलकार समूह’ लाई वार्तामा आउन गृह मन्त्रालयको वार्ता समूहले अनुरोध गरेको छ।
गृह मन्त्रालयका सहसचिव एवं वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त समूहलाई वार्तामा आउन अनुरोध गरेका हुन्।
‘मुक्कुमलुङ पाथीभरा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत पक्षलाई वार्तामा आउन अनुरोध गर्दछौं,’ भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
ताप्लेजुङको समस्या समाधानका लागि भनेर गृह मन्त्रालयले भट्टराईको संयोजकत्वमा समिति बनाएको थियो। उक्त समितिले माघ २२ गते आन्दोलनरत पक्षसँग वार्ता गरी ६ बुँदे सहमति गरेको थियो।
माघ २७ गते पनि दुई पक्षबीच छलफल भएको थियो। यसैबीच उक्त समूहका सदस्यहरू र नेकपा एमालेका सांसद योगेश भट्टराईले पनि गृहमन्त्री रमेश लेखकलाई भेटेर छलफल गरेका थिए।
मन्त्री लेखकले वार्ता समितिबाटै समाधान निकाल्न पनि अनुरोध गरेका थिए।