गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारको घटनामा दोषी जोसुकै भएपनि छानबिन गरी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँरलाई निर्देशन दिएका छन्।
बुधबार बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए।
मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट दुर्व्यवहार भइरहेका घटनाहरू सार्वजनिक भइरहेको प्रति सचेतना अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो
‘घटनामा संलग्न जो सुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु,’ मन्त्री लेखकले भने, ‘समाजमा शान्ति सुरक्षामा खलल् पुर्याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जोकोही भए पनि कानूनी दायरामा ल्याउन भनिसकेको छु।’