'गल्फ अफ मेक्सिको'लाई आफ्ना समाचारमा 'गल्फ अफ मेक्सिको' नै लेख्ने भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय समाचार संस्था एशोसियटेड प्रेस (एपी) का रिपोर्टरहरूलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएका छन्।
मंगलबार राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रममा एपीका प्रतिनिधिलाई प्रवेश रोक लगाइएको हो।
उक्त घटनापछि एपीले सम्पादकीय लेखेर ट्रम्पको कार्यकारी आदेशअनुसार 'गल्फ अफ मेक्सिको'लाई 'गल्फ अफ अमेरिका' नलेख्ने भनेकै कारण ह्वाइट हाउसको समाचार संकलन कक्षमा प्रवेश गर्न आफूहरूमाथि रोक लगाइएको जानकारी दिएको छ।
सरकारको खर्च कटौतीका लागि संघीय एजेन्सीहरूलाई इलन मस्कसँग मिलेर काम गर्ने कार्यकारी आदेशमा ट्रम्पले मंगलबार हस्ताक्षर गरेका थिए। हस्ताक्षर कार्यक्रमको समाचार संकलनका लागि पुगेका एपीका पत्रकाहरूलाई प्रवेश रोक लगाइएको थियो।
'हामीलाई गल्फ अफ मेक्सिकोलाई कार्यकारी आदेशअनुसार गल्फ अफ अमेरिका नलेखेसम्म ह्वाइट हाउसमा प्रवेश नदिइने भन्ने सन्देश प्राप्त भएको छ,' एपीको सम्पादकीयमा भनिएको छ।
एपीले यसलाई स्वतन्त्र पत्रकारीतामाथिको प्रहार भनेको छ।
'हाम्रो स्वतन्त्र पत्रकारितामाथि डण्डा चलाउने ट्रम्प प्रशासनको कदम चिन्ताजनक छ। यसले केबल स्वतन्त्र समाचार नागरिकसम्म पुर्याउन बाधा मात्र गर्दैन पहिलो संशोधनको पनि उल्लंघन गरेको छ,' एपीको सम्पादकीयमा भनिएको छ।
एपीमाथिको कारबाहीलाई ह्वाइट हाउसको पत्रकार संघले पनि आपत्ति जनाएको छ।
ह्वाइट हाउस पत्रकार संघका अध्यक्ष युजिन ड्यानियल्सले ट्रम्प प्रशासनले तत्काल आफ्नो कदम सच्याउन आग्रह गरे।
'ह्वाइट हाउसले समाचार संस्थाहरुलाई कसरी रिपोर्टिङ गर्ने भनेर निर्देशन दिन सक्दैन, न त काम गर्ने पत्रकारहरूलाई दण्डित गर्न। समाचार कभरेजको लागि खुला आधिकारिक कार्यक्रमबाट एसोसिएटेड प्रेसका रिपोर्टरलाई प्रतिबन्ध लगाउने प्रशासनको कदम अस्वीकार्य छ,' अध्यक्ष युजिनले भनेका छन्।
ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि 'गल्फ अफ मेक्सिको' लाई 'गल्फ अफ अमेरिका' नामाकरण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
ट्रम्पको कार्यकारी आदेशअनुसार गुगलले पनि नाम परिवर्तन गरी 'गल्फ अफ अमेरिका' राखेको थियो। यद्यपि उक्त नाम अमेरिका भित्रबाट हेर्दा मात्रै देखिने र अन्य मुलुकबाट दुवै नाम देखिइने बनाइएको गुगलले बताएको थियो।
एपीले अमेरिकामा मात्र नभई विश्वभर आफ्ना पाठक रहेको र भौगोलिक रूपमा अस्पष्टता नहोस् भन्नका लागि ट्रम्पले कार्यकारी आदेश जारी गरेपनि गल्फ अफ मेक्सिको नै उल्लेख गर्ने भनेर सम्पादकीय लेखेको थियो।