नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार बन्नुपर्छ भन्ने पहिलो व्यक्ति आफू नै भएको बताएका छन्।
भक्तपुरमा सोमबार जिपी कोइराला फाउन्डेसनले गरेको 'राजनीतिका शिखर पुरूष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विचार गोष्ठीमा बोल्दै कोइरालाले कांग्रेस र एमालेबीचको सरकार बनाउन आफूले छलफलसमेत गरेको स्मरण गरेका थिए।
‘नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति मै हो,’ कोइरालाले भने, ‘केपी ओलीजीसँग दुई चार राउण्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो।’
गत असार १७ गते कांग्रेस र एमालेबीच सरकार बनाउनेलगायत ७ बुँदे सहमति भएको थियो। त्यसैको जगमा असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए।
फरक प्रसंगमा बोल्दै कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको बताए। कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको उनको भनाइ थियो।
लोकतन्त्रमा सकेसम्म संसदबाट नै ऐन, कानून बनाउनुपर्ने उनले बताए। राष्ट्रिय सभामा बहुमत अपुग भएको भन्दै उनले यस्तो बेला गिरिजाप्रसाद कोइरालाले सांसदहरूसँग कुराकानी गरेर बहुमत जुटाउने गरेको स्मरण गरेका थिए।