राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ।
९२ वर्षीया दाहालको उपचारका क्रममा सोमबार दिउँसो साढे २ बजे दीर्घायु अस्पतालमा निधन भएको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए।
‘उहाँको आज दिउँसो निधन भएको हो,’ उनले भने, ‘उहाँका सन्तान छैनन्। बहिनी र ज्वाइँका परिवार घरमै ल्याएर राख्नु भएको थियो। बहिनीको छोराको पनि निधन भइसकेकोले नातिले काजकिरिया गर्नुहुन्छ।’
दाहाल २०३८ सालमा काठमाडौंबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। त्यतिबेला काठमाडौंबाट २ जना मात्रै राष्ट्रिय पञ्चायतमा निर्वाचित हुने व्यवस्था थियो। बढी मत ल्याउने दुई जना निर्वाचित हुन्थे।
२०३८ सालमा दाहाल र जोगमेयर श्रेष्ठ निर्वाचित भएका थिए। दाहालले ६५ हजार सात सय ७० मत ल्याएकी थिइन्।
२०४३ सालमा दाहाल र श्रेष्ठ दुवै पराजित भएका थिए। जनपक्षीय उम्मेदवारका रूपमा चिनिएका पद्मरत्न तुलाधर र विमलमान सिंह श्रेष्ठ निर्वाचित भएका थिए।
दाहाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएकी थिइन्।