नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन आइतबारदेखि सुरू भएको छ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सुरू भएको महाधिवेशनमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक तथा संगठनात्मक प्रस्ताव पेस गरेका छन्।
महाधिवेशनमा एक हजार पाँच सय जना प्रतिनिधि सहभागी छन्। महाधिवेशनअन्तर्गत बन्द सत्र पनि सुरू भइसकेको छ भने यो महाधिवेशन नेतृत्व चयन गर्दै माघ २९ गते सकिनेछ।
अध्यक्ष भट्टराईले पेस गरेको राजनीतिक प्रस्तावमा नेपालका कांग्रेस, कम्युनिष्ट, राप्रपा र वैकल्पिक शक्तिहरूबारे पार्टीको दृष्टिकोण समावेश छ।
भट्टराईले प्रतिवेदनको 'राजनीतिक शक्तिहरूको विश्लेषण' खण्डमा लोकतान्त्रीकरण भएका कारण नेपालमा सयौंको संख्यामा निर्वाचन आयोगमा दर्ता भएका, नभएका र दर्जन हाराहारीमा संसदमा (संघ र प्रदेश) प्रतिनिधित्व भएका राजनीतिक दल रहेको उल्लेख छ। ती दलहरूको मूल वैचारिक-राजनीतिक प्रवृत्ति र चरित्रका आधारमा वर्गीकरण गरेर मूल्याङ्कन गर्नु सान्दर्भिक हुने भट्टराईले उल्लेख गरेका छन्।
उदारवादी लोकतान्त्रिक धार
व्यक्तिको निजी स्वतन्त्रतालाई प्रधानता दिने र पुँजीवादी खुला बजार अर्थतन्त्रको पैरवी गर्ने उदारवादी लोकतान्त्रिक धारको मुख्य प्रतिनिधि- नेपाली कांग्रेस हो।
प्रजातान्त्रिक समाजवादको कुरा गरेर २००७ सालदेखिको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको र विभिन्न राजनीतिक प्रवृत्तिका व्यक्ति र समुदायहरू पनि जोडिदै आएकाले यसको देशभर उल्लेख्य आधार छ।
परन्तु यसले बिपी कोइरालाको समय यता वैचारिक, राजनीतिक, कार्यक्रमिक ढंगले खासै प्रगति र नयाँपन प्रदर्शन गर्न सकेको छैन।
पटक-पटक सत्ताको नेतृत्व गर्दा पनि देशका राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा गुणात्मक रूपान्तरण गर्न सकेको छैन। बरु यसका नेताहरू सधैँ कुनै न कुनै भ्रष्टाचार र अनियमिततासँग जोडिने गरेका छन्।
देशका गम्भीर प्रकृतिका अर्थ राजनीतिक समस्या र नयाँ युगको नयाँ कार्यभार यो ऐतिहासिक रूपले पुरानो भइसकेको राजनीतिक धार र शक्तिबाट पूरा हुन असम्भव छ।
साम्यवादी धार
एमाले, माओवादी केन्द्रलगायत ‘नेपाल कम्युनिस्ट पार्टी' का विभिन्न समूहहरूले प्रतिनिधित्व गर्ने साम्यवादी धारको प्रभाव देशभर उल्लेख्य रूपमा छ।
पहिले निरंकुश पञ्चायती राजतन्त्र विरोधी आन्दोलन र पछि मुख्यतः दशवर्षे सशस्त्र जनयुद्ध र संयुक्त जनआन्दोलन मार्फत नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले यो धारको प्रभाव रहनु स्वाभाविक छ।
परन्तु पटक-पटक सत्ताको नेतृत्व गरे पनि यो धारको नेतृत्वले देशका गम्भीर संरचनात्मक समस्या समाधान गर्न नसक्नु, भनाइ र गराइमा कुनै तादात्म्य नरहनु, यिनका नेता र उच्चतहका कार्यकर्ताहरू विभिन्न भ्रष्टाचार, अनियमिततामा मुछिनु आदि कारणले आम जनताले कांग्रेस र कम्युनिस्टमा कुनै फरक महसु गर्न सकिरहेका छैनन्।
बलिदानीपूर्ण 'जनयुद्ध'को जगमा बनेको माओवादी केन्द्रको मूल नेतृत्व झन् तीव्र गतिमा भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग-उत्थानीकरणको दलदलमा फसेकाले एमाले र माओवादीबीचमा कुनै तात्विक अन्तर छैन।
साथै हिजोको एकदलीय कम्युनिष्ट सत्ता सबैतिर ढल्दै गएको, संसदीय कम्युनिस्टहरू सबै देशमा कमजोर बन्दै गएको स्थितिमा त्यसका वैचारिक-राजनीतिक-सांगठनिक व्यवहारिक कारणहरूको वस्तुसंगत निराकरण नगरी पुरानै ढाँचामा कम्युनिस्ट पार्टीहरू नेपालमा मात्रै लामो समय टिक्ने अपेक्षा गर्न सकिन्न।
तत्कालको ठोस सन्दर्भमा नेपालको मुख्य आवश्यकता रहेको तीव्र आर्थिक रूपान्तरण र नयाँ पुस्ताको अक्कासिएको आकांक्षाको पूर्ति जुनसुकै ब्राण्डका कम्युनिस्टहरूबाट पनि पूरा हुन सक्ने देखिन्न।
पुनरुत्थानवादी सम्वर्द्धनवादी धार
धार्मिक राज्य र राजतन्त्रको वकालत गर्ने यो धारको मुख्य प्रतिनिधि राप्रपा हो। जुनसुकै समाज पनि अग्रगामी, यथास्थितिवादी र पश्चगामी सोच राख्ने मानिसहरूले बन्ने हुँदा इतिहासमा ढिलो गरी लोकतान्त्रीकरण भएको नेपालमा केही प्रतिशत पश्चगामी सोच राख्नेहरूको उपस्थिति हुनु स्वाभाविक कुरा हो।
२१ औं शताब्दीको चेतना बोकेका अत्यधिक नेपालीहरू जतिसुकै समस्या आइपरे पनि अँध्यारो युगतिर होइन उज्यालो युगतिर नै उन्मुख हुनेछन् भनेर हामीले विश्वास गर्नुपर्छ।
जातीय/क्षेत्रीय पहिचानवादी धार
बहुजातीय बहुभाषिक र क्षेत्रीय विविधतायुक्त नेपालमा भखरै राज्यको संघीय ढाँचामा पुनर्संरचना भएकाले विभिन्न नाउँमा जातीय/क्षेत्रीय पहिचानवादी पार्टीहरू जन्मने र बिलाउने भइरहेका छन्।
खासगरी मधेसी, आदिवासी जनजाति र थारु बाहुल्य क्षेत्रहरूमा त्यो प्रवृत्ति देखिएको छ। नेपालजस्तो अल्पविकसित र जटील भूराजनीतिक अवस्था भएको देशमा जातीय/क्षेत्रीय समस्यालाई समावेशी चरित्रको देशव्यापी राष्ट्रिय शक्तिले मात्र हल गर्न सक्छ। अतः कालान्तरमा जातीय / क्षेत्रीय दलहरू एकाकार हुने वा बिलाउँदै जाने अनुमान गर्न सकिन्छ।
नयाँ/वैकल्पिक शक्तिहरू
नेपाली इतिहासमा पहिलोचोटि जननिर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि र २१ औं शताब्दीसँगै चौथो औद्योगिक क्रान्तिको नयाँ युग सुरू भएपछि नयाँ युगको नयाँ कार्यभार पूरा गर्न विभिन्न ढंगले नयाँ/ वैकल्पिक पार्टी र शक्तिहरूको उदय हुँदै गइरहेको छ।
सर्वप्रथम २०७२ सालमा संविधान जारी भए पश्चात 'नयाँ शक्ति अभियान' सुर" भएको थियो जुन अहिले नेसपा (नयाँ शक्ति) को रूपमा रहेको छ।
यसले देशको प्रमुख कार्यभारहरूलाई ५ 'स' अर्थात् समृद्धि, सुशासन, संघीयता सहितको समावेशी र सहभागितामूलक लोकतन्त्र, स्वाधीनता र समुन्नत समाजवादको रूपमा परिभाषित गरेर स्पष्ट वैचारिक-राजनीतिक कार्यदिशा सहितको नयाँ/ वैकल्पिक शक्ति निर्माण अभियानको उद्घोष गरेको थियो।
त्यसपछिका चरणहरूमा विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत उदाएका छन्। साथै स्थानीय तहहरूमा विभिन्न स्वतन्त्र व्यक्तिहरू अघि आएका छन्।
पुरानो विचार, दल, नेतृत्व, कार्यक्रम, शैलीको विकल्पमा उदाएका सबै शक्ति र व्यक्तित्वको सबै पाटो पक्ष अझै स्पष्ट हुन बाँकी छ तैपनि पुराना दल र नेतृत्वप्रति आम जनसमुदाय र विशेषतः युवाहरूको चरम निराशा र आक्रोश बढ्दै गइरहेको स्थितिमा नयाँ/वैकल्पिक शक्तिहरूको उदयलाई सकारात्मक रूपमा लिनुपर्दछ।
साथै देशलाई दिगो र अग्रगामी विकल्प दिन उनीहरूबीच सहकार्य र सहयात्राको प्रयत्न गर्नुपर्दछ।
यो पनि:
बाबुरामको राजनीतिक प्रस्ताव- पतनशील र भ्रष्टहरूका विकल्पमा उदाएकासँग कार्यगत एकता (पूर्णपाठ)