नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नयाँ वा पुराना दलहरू सरकारमा गए पनि लामो समयदेखि महत्त्वपूर्ण विधेयकहरू टुंगोमा पुग्न नसकेको बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले संसदको विधायकी काममा राजनीतिक दलहरूले योग्यता प्रस्तुत गर्न नसकेको उल्लेख गरे।
‘भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक अहिलेसम्म पनि टुंगोमा पुग्न सकेको छैन,’ कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले भने, ‘सभामुख महोदय यसमा म कसलाई दोष दिऊँ? आफ्नै दललाई दोषमुक्त मानौं भने त्यो बेला पनि सरकारमा थियो र अहिले पनि सरकारमा छ। एमाले पनि त्यो बेला पनि सरकारमा थियो अहिले पनि सरकारमा छ। आजको प्रमुख प्रतिपक्षी दललाई दुधले नुहाइदिऊँ कि भनेर सोच्दैगर्दा २०६२-६३को आन्दोलनपछि सरकारमा त्यही दल छ। नयाँ दल समेत दुई वर्ष यता दुई वर्ष सरकारमा छ।’
उनले अख्तियारसम्बन्धी, शिक्षासम्बन्धी, निजामती कर्मचारीसम्बन्धी विधेयकलाई यो अधिवेशनबाट टुंग्याउनुपर्ने बताए।
साथै उनले संसदमा सांसदहरूका आवेगात्मक अभिव्यक्तिले सांसदकै छविलाई असर गरेको पनि बताए।
‘संसदको सबैभन्दा विधायिकी कर्ममा हामीले योग्यता राम्रोसँग प्रस्तुत गर्न सकिरहेका छैनौं। एकपछि अर्को प्रधानमन्त्री बनाउन, एकपछि अर्को सरकार बनाउन जतिको क्षमता नेता, दलहरू र संसदले राखेको छ त्यही गतिमा विधेयक पारित हुन सकेका छैनन्,’ उनले भने।