जनमत पार्टीका अध्यक्ष सिके राउतले तत्काल प्रधानमन्त्री र मन्त्री बन्न राजनीतिमा नलागेको बताएका छन्।
नयाँ पार्टी जो-सुकैको नेतृत्वमा पनि धैर्यता चाहिने उनको भनाइ छ।
काठमाडौंमा आइतबार नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष राउतले भने, ‘जुनसुकै नयाँ पार्टीका कुरामा म भन्न चाहन्छु, त्यो धैयर्ता हामी नेतृत्व वर्गमा चाहिन्छ, हामी तुरून्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौं। त्यसमा समय लाग्छ त्यो यत्तिकै रातारात हुनेकुरा होइन।’
उनले नयाँ पार्टीमा धेरै आशा राख्ने गरिएको पाइएको पनि बताए।
‘नयाँ पार्टी खोलेको, पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन, हामी के आशा गर्छौं भने यसले तुरून्तै देशलाई निकास नै दिन सकेन, यसले खोइ प्रधानमन्त्री बनाउन सकेको? यसले खै संसदलाई नियन्त्रण गर्न सकेको, यसले खोइ कानून बनाउन सकेको भन्ने एकैचोटी हामी आशा गरिदिन्छौँ, धैयर्ता राख्नु आवश्यक छ,’ उनले भने।