नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरू भएको छ।
नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनको उद्घाटन सत्र केही फरक देखियो।
अध्यक्ष बाबुराम भट्टराईसँगै नयाँ दलका नेताहरू देखिए पनि पुराना दलका नेताहरू महाधिवेशनमा उपस्थित छैनन्।
यसको कारण छ।
नेसपा (नयाँ शक्ति) ले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लगायत पुराना दलका नेताहरूलाई निम्तो नै दिएको छैन।
यसबारे हामीले नेसपा (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्मालाई सोधेका छौं।
प्रवक्ता शर्माले पुराना दलहरूलाई महाधिवेशन उद्घाटन सत्रमा नबोलाइएको जानकारी दिए।
‘पुराना दलका नेताहरूलाई महाधिवेशन उद्घाटन सत्रमा बोलाइएको नै छैन,’ उनले भने, ‘उहाँहरू र हामी हिँड्ने बाटो नै फरक भयो, त्यसैले नबोलाइएको हो।’
पुराना दलहरू सत्ता र शक्तिमा रूमलिएको उनको आरोप छ।
नेसपा (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई पनि माओवादी, नयाँ शक्ति, समाजवादी पार्टी हुँदै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष भएका हुन्।
आइतबार दिउँसो प्रज्ञा भवनमा भइरहेको नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, विवेकशील साझा पार्टीलगायतलाई निम्तो दिइएको छ।
रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नाउपा संस्थापक रेमश चौधरी, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले नेसपा (नयाँ शक्ति) महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका छन्।
यो पनि: नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशन (तस्बिरहरू)