हमासले थप तीन जना बन्धक छाडेको छ।
युद्धविराम सम्झौता अन्तर्गत हमासले तेस्रो साता तीन जना बन्धकलाई शनिबार रिहा गरेको हो।
योपटक रिहा हुने तीनैजना पुरूष बन्धक छन्। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार ५६ वर्षका चाड बेन एमी, ५२ वर्षका एली शराबी र ३४ वर्षका ओर लेभी शनिबार बन्धकमुक्त भएका छन्। उनीहरू सबै इसराइली हुन्।
बन्धकमुक्त भएका तीन जनाको अवस्था नाजुक रहेको भन्दै इसराइल र त्यहाँका अधिकारीहरूले आपत्ति जनाएका छन्। फोटो र भिडिओ सार्वजनिक भएपछि उनीहरुको शारीरिक अवस्था ज्यादै कमजोर भएको भन्दै इसराइलले निन्दा व्यक्त गरेको हो।
बन्धकहरूको अवस्था देखेर विचलित बनाएको र त्यसलाई नजरन्दाज गर्न नसकिने इसराइलले बताएको छ।
बन्धक रिहाइको प्रत्यक्ष प्रसारण हेरिरहेका तीनै जनाका परिवारले पनि उनीहरूको अवस्था देखेर आपत्ति जनाएका छन्।
इसराइलका एक मध्यस्तकर्ताले बन्धकमुक्त भएका तीन जनाको अवस्था हेर्दा धेरै इसराइलीहरूलाई नाजी यातना शिविरबाट बचेकाहरुको सम्झना गराएको बताएका छन्।
'आज तीन बन्धकको अवस्था दोस्रो विश्वयुद्धको यातना शिविरबाट मुक्त भएकोजस्तो देख्नुले हामी सबैलाई बाँकी बन्धकहरूको रिहाईलाई तीव्र बनाउन बाध्य बनाउँछ,' उनले भनेका छन्।
हमासका बन्धकमा रहेकाहरूका परिवारले तीव्र गतिमा बन्धक रिहा हुने वातावरण बनाउन छाडेर भ्रमण लम्ब्याएर प्रधानमन्त्री बेन्यामिन नेतन्याहू वासिङ्टनमै बसिरहेको भनेर उनको आलोचना गरेका छन्।
हमासले बन्धक छाडेपछि इसरालले १८३ प्यालेस्टिनी बन्दी रिहा गरेको छ।
माघ ५ देखि सुरू भएको युद्धविराममा अहिलेसम्म २१ जना बन्धक हमासले रिहा गरेको छ। ४२ दिनको पहिलो चरणको युद्धविराममा ३३ जना बन्धक रिहा हुने सम्झौता थियो।
त्यसपछि पुनः दोस्रो चरणको युद्धविरामको प्रक्रिया सुरू हुने र बाँकी बन्धक त्यतिबेला छुट्ने सम्झौता थियो।
तर दोस्रो चरणको वार्ताका लागि पहल सुरू भएको छैन।
हमासको नियन्त्रणमा नेपालका विपिन जोशी पनि छन्।