गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका छन्।
शनिबार काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबको भवन उद्घाटन समारोहमा उनले सरकार बनेको करिब सात महिनामा नीतिगत र कानुनी सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका हुन्।
सोही अनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गरिएको गृहमन्त्री लेखकले बताए। केही दिनमा उक्त विधेयकमाथि केही दिनमा छलफल हुने उनको विश्वास छ।
'नागरिकता सम्बन्धि विधेयक पनि संसदमा दर्ता भएको छ । अब चाँडै अध्यागमन सम्बन्धि ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ । यस्तै निर्वाचन सम्बन्धि ऐन पनि अगाडि बढाएका छौं। जग्गा प्राप्ति सम्बन्धि कानुन संशोधनको काम अगाडि बढेको छ,' उनले भने, 'यस्तै संघसंस्था सम्बन्धि नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीन वटा कानुन संशोधनका लागि संसद पुगेका छन्। बाँकी विधेयक पनि यसै संसदमा लगेर चाँडै पास गर्छौं।'
नेपाल प्रहरी ऐन सम्बन्धि विधेयकमा सेवा प्रवेश र सेवानिवृत्तको कुरा सुनिश्चित गरेको गृहमन्त्री लेखकको भनाइ छ ।
साथै उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरी सम्बन्धि विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको बताए।
विधेयकमा भएको कमीकमजोरी संसदमा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए।
कार्यक्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी क्लबले प्रहरी कर्मचारीको शारीरिक, मानसिक, सामाजिक क्रियाकलापहरु महत्त्वपूर्ण काम गरेको बताए।
'क्लबको नयाँ भवनबाट स्तरीय सेवा उपलब्ध हुने विश्वास लिएको छ । यो क्लबमा उपलब्ध सेवाबाट सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास छ, ' गृहमन्त्री लेखक भने।
यस्तै गृहमन्त्री लेखकले लागू औषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या र सामाजिक संजालको दुरुपयोग मुख्य चुनौति देखिएको बताए।