राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस, एमाले र माओवादीले देशमा लुट्ने काम गरेको आरोप लगाएका छन्।
उनले प्रकृतिले वरदान दिएको देश मुख्य तीन दलहरूको कारण दुनियाँकै कंगाल भएको दाबी गरे।
पानीको मात्रै सही प्रयोग गरेको भए देश अहिले सम्पन्न मुलुक बन्ने जनाउँदै महतोले दलहरूमा राष्ट्रवाद नहुँदा मुलुक कंगाल भएको जिकिर गरे।
शनिबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका महतोले अहिले देशको अवस्था कुनै पनि किसिमबाट ठीक नभएको जनाए।
‘लोकतान्त्रिक मूल्य मान्यताका लागि नेपाली जनताले पटक–पटक संघर्ष गरे तर, देशमा लोकतन्त्रमाथि नै संकट ल्याउने प्रयास सुरू भएको छ,’ उनले भने, ‘त्यो पनि आफूलाई लोकतन्त्रवादी भन्ने कांग्रेस एमालेबाटै मुलुकका लागि खतरा भएको छ।’
नेपाली कांग्रेस र एमालेले लोकतान्त्रिक मूल्यमान्यतालाई दाउमा राखेर देशलाई निरंकुशतन्त्र र अधियनाकवाद तर्फ धकेल्ने काम गरेको उनले आरोप लगाए।
‘सत्ता र प्रतिपक्ष देखिएन दुबै दल जे गरे पनि हुन्छ भन्ने मान्यताबाट अघि बढे, अधिनायकवाद लाद्न खोजे,’ उनले भने।
उनले मुलुकलाई जसरी हुन्छ भ्रष्टाचारमा डुबाउने र कंगाल बनाई आफ्ना कर्तुत लुकाउन अहिलेको सत्ता गठबन्धन बनेको दाबी गरे।
जनतालाई थिचोमिचो गरी अध्यादेशका आधारमा देश चालाउने काम भइरहेको र यसले लोकतन्त्रका लागि खतरा, मनपरीतन्त्र र निरंकुशतन्त्रलाई बढवा दिने काम गरेको महतोको भनाइ छ।
उनले सरकारले ल्याएको सञ्चार विधेयक लोकतन्त्रका लागि सही नभएको भन्दै आफ्नो विरोध गर्नेहरूको मुख थुन्नकै लागि यो विधेयक ल्याइएको बताए।
फरक प्रसंगमा उनले पाथीभरामा केबलकार निर्माण गर्दा एक जना व्यवसायीलाई फाइदा हुने भए पनि स्थानीयलाई बेफाइदा हुने भन्दै उनले यस्ता संरचनाले नेपालको संस्कृतिको ह्रास भई पर्यटकीय गतिविधि घट्ने दाबी गरे।
‘मुलुकमा होली वाइन सभ्यता ल्याएर हाम्रो संस्कृति, परम्परा र सभ्यता बच्दैन,’ महतोले भने।