लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले गत वर्ष समानीकरणको अनुदान रकम नपठाउँदा प्रदेश सरकारलाई आर्थिक भार थपिएको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका छन्।
शुक्रबार सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीले भर्चुअल बैठक गरेका थिए।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले समानीकरणको अनुदान रकम प्राप्त नहुँदा प्रदेश सरकारलाई दुई अर्ब बढी आर्थिक दायित्व थपिएको बताएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
अहिले थपिएको दायित्व भुक्तानी गर्न असजिलो भएको गुनासो मुख्यमन्त्री आचार्यले प्रधानमन्त्री ओलीसँग गरेका थिए।
मुख्यमन्त्रीले संघीय सरकारले त्यसबारे पुनर्विचार गरी सम्बोधन गरेमा सहज हुने धारणा राखेका थिए।
लुम्बिनी प्रदेशमा संघीय सरकारबाट हस्तान्तरण भएका ठेक्का आयोजनामा चालु आर्थिक वर्षमा संघीय सरकारले बजेट विनियोजन नगर्दा काम भइसके पनि हालसम्म निर्माण व्यवसायीले भुक्तानी पाउन सकेका छैनन्।
सडक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत १० वटा आयोजनामा बजेट नहुँदा कार्यान्वयन गर्न समस्या परेको छ।
खानेपानी आयोजनाहरूमा पनि आवश्यकभन्दा थोरै बजेट हुँदा अन्तिम चरणमा पुगेका आयोजनाहरूलाई समेत सम्पन्न गर्न चुनौती थपिएको गुनासो पनि मुख्यमन्त्री आचार्यले प्रधानमन्त्रीसमक्ष राखेका थिए।
प्रदेशमा संघीय सरकारमार्फत् सञ्चालन भएका पूर्वाधार अन्तर्गत सडक तथा सिँचाइ आयोजनाको गति बढाउन र समयमा सम्पन्न गर्नका लागि संघले निर्णयमा पुनर्विचार गर्नुपर्ने मुख्यमन्त्री आचार्यले बताएका थिए।
प्रदेश सरकारले चार वटा आयोजनालाई प्रदेश गौरवको आयोजनाको रूपमा अघि बढाएको, कामहरूले गति लिएको पनि बताएका थिए।
भौतिक प्रगतिको आधारमा भुक्तानी गर्न बजेट अभाव रहेको भन्दै स्रोत सुनिश्चितताको लागि मुख्यमन्त्रीले आग्रह गरेका थिए।
प्रदेशमा सबै बालीको लागि २ लाख ५५ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भए पनि वार्षिक ९६ हजार मेट्रिक टनको आधारमा प्राप्त हुने गरेको, रासायनिक मल आवश्यकताको आधारमा किसानलाई उपलब्ध गराउन नसकिएको, वितरण प्रक्रियालाई सहज बनाउन पर्ने कुरा पनि उनले राखेका थिए।
पूर्व विशिष्ट व्यक्तिलाई दश वर्षसम्म सुविधा दिने निर्णय वर्तमान सरकारले खारेज गरेको, पाँच वर्षे भ्रष्टाचार विरूद्धको रणनीतिक योजना कार्यान्वनयमा लगेको, मुख्यमन्त्री, मन्त्रीहरूलाई आचारसंहिताको कसीमा राखेको जस्ता महत्वपूर्ण निर्णयहरू गरेको बारेमा पनि मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी दिएका थिए।