प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले सडक निर्माणका लागि बजेट मिलाउन आफू दौडधुप गरेपनि जस अर्कैले लिन खोजेको गुनासो गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद आलेले धनगढी-खुटीया-दिपायल-चैनपुर-उरै सडकका लागि आफूले त्यतिबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्थमन्त्री वर्षमान पुनलाई पटक पटक भेटेर बजेट सुनिश्चित गरेको तर अहिले जस अरूले नै लिन खोजेको बताएका हुन्।
'पटकपटक भेटेपछि २०८१/२०८२ को बजेटमा ४३ करोड विनियोजन गरिएको हो। मेरो एकल प्रयासले, म डोटी जिल्लाको जल्दोबल्दो सांसद भएको हैसियतले पटकपटक भेटेर यो बजेटको व्यवस्था भएको हो,' उनले भने।
त्यसलाई अहिलेको अर्थमन्त्री विष्णु पौडेलले बहुवर्षीय प्रक्रिया अगाडि बढाउनका लागि गरेको सहयोगप्रति पनि सांसद आलेले धन्यवाद भने।
'यो २० किलोमिटर सडक ७ मिटर चौडाई हुनेगरी सडकको टेण्डर चाँडै आह्वान होस् भन्न चाहन्छु। सामाजिक सञ्जालमा वडा सदस्यदेखि प्रदेशसभा सदस्यहरूले 'मैले गरेँ' भनेर भित्ता रंगाए। यसमा पनि ध्यानाकर्षण भएको छ,' उनले भने।