प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले अदालतमा विचाराधीन रहेको रवि लामिछानेको मुद्दाको विषय संसदमा उठान गरेपछि सत्तापक्ष एमाले सांसदले आपत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसदहरूले आफ्ना सभापति लामिछानेमाथि सरकारले प्रतिशोध लिएको र त्यसलाई संसदले समर्थन गरेको आरोप लगाएका थिए।
शून्य समयमा बोल्दै एमाले सांसद बासुदेव घिमिरेले संविधानले अदालतमा विचाराधीन विषयमा छलफल गर्न नपाइने व्यवस्था गरेको स्मरण गराए।
'तर अहिले विचाराधीन कतिपय मुद्दाको विषयमा बहस भइरहेको देखिँदा किन यसो गरिएको हो। म सम्बन्धित पक्षसँग स्पष्ट पार्न आग्रह गर्छु,' उनले भने।
रास्वपाका सांसदहरू डिपी अर्याल र विनिता कठायतले लामिछानेमाथिको मुद्दाको विषयमा संसदमा बोलेका थिए।
रविमाथि सरकारले साँधेको प्रतिशोधलाई सार्वभौम संसदले पनि समर्थन गर्यो: डिपी अर्याल