प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले विपी राजमार्गको भासिएको सडक मर्मत गर्न सरकार उदासिन बनेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले दसौं हजार सवारी गुड्ने विपी राजमार्ग बनाउन सरकारले चासो नदिएको बताएका हुन्।
राजमार्गको उक्त खण्ड गत असोजको बाढीले बगाएको थियो। अहिले रोशी खोलामा पानी नभएका कारण अस्थायी रूपमा बनाइएको सडकबाट सवारी साधन आवतजावत गरिरहेका छन्। तर बर्खामा रोशी खोला बढेपछि अहिलेको अस्थायी सडकबाट सवारी आवतजावत सम्भव हुँदैन।
प्राविधिक इस्टिमेटअनुसार उक्त सडक पूर्ण रूपमा बनाउन १० अर्ब लाग्ने सांसद दाहालले बताए। तर ५५ करोड खर्च गरियो भने बर्खाको समयमा सवारी चल्न मिल्ने गरी सडक बनाउन सकिने इस्टिमेट रहेको पनि दाहालले बताए।
तत्कालका लागि विपद व्यवस्थापन प्राधिकरणमा भएको ७ अर्बमध्येबाट विपी राजमार्गमा बनाउन बजेट विनियोजन गर्न पनि दाहालले माग गरे।
त्यति नगरे अर्को बर्खामा त्यहाँबाट सवारी साधन आवतजावत ठप्प हुने उनले बताए।
असोजको बाढी प्राकृतिक भएपनि त्यती ठूलो क्षति हुनुमा मानवीय कमजोरी रहेको पनि सांसद दाहालले बताए। त्यहाँ अवैध रूपमा सञ्चालन भइरहेका क्रसरका कारण पनि क्षति भएको उनले बताए।
'रोशीबाट पानीभन्दा बढी लेदो बगेको छ। ती क्रसरहरू डस्ट त्यही खोलामा हाल्छन्। मुलकोट, नेपालथोक र खुर्कोटजस्ता पर्यटकीय हबहरू उजाड भएका छन्,' उनले भने।
त्यस्ता अवैध क्रसर सञ्चालनमा रोक लगाउन पनि सांसद दाहालले सरकारसँग माग गरे।
यो पनिः हिउँदमा खोलाबाटै काम चल्यो, बर्खामा के हुन्छ बिपी हाइवे?