राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बेरोजगारी, महँगी, कालोबजारी र प्राकृतिक विपत्तिको न्यूनीकरणमा प्राथमिकताका साथ सरकारले काम गर्नुपर्ने भए पनि सभापति रवि लामिछाने थुन्न तल्लीन रहेको बताएकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भनिन्, ‘बेरोजगारी, महँगी, कालोबजारी, प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणलगायत अनगिन्ती विषयमा राज्यको प्राथमिकता हुनुपर्नेमा, मात्र रवि लामिछाने थुन्ने काममा यति तल्लीन भएकोमा ठूलो काम गरेछ, बधाई भन्न चाहन्छु।’
रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा लागेको थियो। अहिलेसम्म कास्की, काठमाडौं, रूपन्देही र चितवन अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएका छन्। विभिन्न सहकारीको बचत गैरकानुनी ढंगले गोर्खा मिडियामा ल्याएको उनीमाथि अभियोग छ।
सांसद गौतमले लामिछानेमाथि पूर्वाग्रही ढंगले राज्यले अभियोजन गरेको पनि बताइन्।
‘सरकारी वकिलले संगठित अपराधमा किन मुद्दा दर्ता गरेन भनेर सरकारी वकिलको रातारात सरूवा त गरेकै थियो। तर, हुँदै हुँदै उक्त सरकारी वकिलमाथि छानबिन समिति पनि गठन भएछ! एउटा अभियोजनकर्ताको स्वविवेकलाई राज्यले कसरी बन्धक बनाउँदो रहेछ भन्ने गतिलो उदाहरण प्रस्तुत भएको छ,’ उनले भनिन्, ‘त्यति मात्र होइन, रवि लामिछानेको मुद्दामा बहस गर्न थप ३ जिल्लाबाट सरकारी वकिल झिकाइएको रहेछ। रवि लामिछानेलाई न्याक्न सकियोस् भनेर कति जोर-बल लगाएको सरकारले?’