नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूभन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा कांग्रेस र एमाले मिल्नुपरेको बताएका छन्।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेस र एमाले कुनैसँग पनि सहकार्य गर्दा आफू नै प्रधानमन्त्री भइने मानसिकतामा अध्यक्ष दाहाल रहेको बताए।
‘प्रधानमन्त्री पदमा उहाँ लगातार नेपाली कांग्रेससँग सहकार्य गरे पनि एमालेसँग सहकार्य गरे पनि प्रधानमन्त्री पद प्रचण्डजीकै हुन्छ। प्रचण्डजी भन्दा बाहिर जाँदैन, भन्ने जुन मानसिकतामा उहाँ हुनुहुन्थ्यो। त्यो परिस्थिति समाप्त भएको हुनाले उहाँका धेरै अभिव्यक्तिहरू त्यसबाट अभिप्रेरित भएर आएको मैले महशुस गरेँ। जुन बेलामा उहाँले नेपाली कांग्रेससँगको गठबन्धन छोड्नुभयो, त्यस बेलामा आर्थिक स्थिति मैले भनेको जस्तो भएन अर्थमन्त्रीले सहयोग गरेन भन्नेजस्तो अभिव्यक्ति दिनुभयो। तर आज उहाँले त्यसबेलामा एक एक गरेर धेरै आर्थिक उपलब्धि भएका थिए, त्यो मैले नै गरेको थिएँ भनेर दोहोर्याउनु भयो। आर्थिक मन्दीको अवस्था थियो, देश आर्थिक संकटको अवस्थामा थियो, त्यस अवस्थाबाट आर्थिक रुपमा अघि बढाउने सशक्त कोशिस गरेका थियौँ। त्यसमा हामीले महत्वपूर्ण भुमिका निर्वाह गरेका थियौँ,’ उनले भने।
सांसद महतले बहुदलीय प्रतिष्पर्धात्मक व्यवस्थामा आएको कुरा नभुल्न उनले आग्रह गरे।
(न्युज एजेन्सी नेपाल)