नेकपा (एमाले) का सांसद रघुजी पन्तले संसद कुण्ठा पोख्ने ठाउँ नभएको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसदमा कुण्ठा पोखेको बताए।
‘जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरू र खुरुखुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरूको बीचमा जुन खालको र्याङठ्याङ मिलेको देखियो यो वास्तवमै रमाइलो छ,’ उनले भने।
आफूले प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड' को भाषण ध्यानपूर्वक सुनेको पनि उनले बताए।
‘उहाँले अध्यादेशलाई निकै आक्रमण गर्नुभयो तर ६ वटा अध्यादेशमा २९ वटा कानून संशोधनको प्रस्ताव अगाडि सारिएको छ। तर ति संशोधन गरिएका दफाहरूमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ, कुन दफाले वाक प्रकाशन स्वतन्त्रता खोस्छ, नागरिक अधिकार खोस्छ, नैसर्गिक अधिकार खोस्छ, एउटा पनि उदाहरण प्रतिपक्ष दलको नेताले दिन सक्नुभएन,’ उनले भने, ‘यो कुण्ठा अभिव्यक्त गर्ने ठाउँ संसद होइन।’
अध्यक्ष दाहालले बिहीबारको प्रतिनिधि सभा बैठकमा रास्वपा सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गरिएको विषय पुनर्विचार गर्न आग्रह गरेका थिए।
(न्युज एजेन्सी नेपाल)