जनता समाजवादी पार्टी नेपालले अध्यादेशबारे पार्टीको अर्को बैठकबाट ठोस निर्णय लिइने बताएको छ।
अध्यक्ष उपेन्द्र यादवको सचिवालयका तर्फबाट निजी सचिव महेश चौरसियाले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा थप अध्ययन गरी अर्को बैठकबाट ठोस निर्णय लिने उल्लेख छ।
सरकारले ल्याएका अध्यादेशबारे अध्ययन गर्न जसपा नेपालले राजकिशोर यादव नेतृत्वमा कार्यदल बनाएको थियो। उक्त कार्यदलले अध्यक्ष यादवलाई प्रतिवेदन बुझाइसकेको छ।
‘प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेश पेस नगरी कार्यसूचीबाटै हटाएको अवस्थामा जसपा नेपालले अध्यादेशबारे कुनै औपचारिक निर्णय आज नलिई उक्त प्रतिवेदनउपर थप अध्ययन र छलफल गरी संसदीय दलको अर्को बैठकमा देश र राष्ट्र हित हुने गरी ठोस निर्णय लिने जानकारी गराउँदछौं,’ चौरसियाले भनेका छन्।
साथै जसपा नेपालले विज्ञप्तिमा अतिरञ्जित, मनगढन्ते र प्रायोजित ढंगले आइरहेका समाचार र सूचना गलत रहेको पनि उल्लेख गरेको छ।
सरकारले ल्याएका अध्यादेश स्वीकृत हुन राष्ट्रिय सभामा सत्ता पक्षलाई ३ जना सांसद रहेको जसपा नेपालको साथ आवश्यक छ।
यस्तो छ विज्ञप्ति:
![475223750_1582058692448079_5988515794624722802_n-1738842515.png](https://www.setopati.com/uploads/posts/475223750_1582058692448079_5988515794624722802_n-1738842515.png)