प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका प्रावधानबारे सत्ताघटक नेपाली कांग्रेसको धारणा मागेका छन्।
बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले सामाजिक सञ्जाल विधेयकलाई पहिले कांग्रेसका नेताहरूले विरोध गरेको र अहिले के छ धारणा भनेर सोधेका हुन्।
‘प्रधानमन्त्री केपी ओलीजी विरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न। यो पटक-पटक प्रमाणित तथ्य हो। उहाँले सक्नुभयो भने सिंगो देशलाई आफ्नो पार्टी नेकपा (एमाले) जस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ,’ प्रचण्डले भने, ‘त्यसैले उहाँ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनु म अनौठो मान्दिनँ।’
भिडिओ:
उनले नेपाली कांग्रेसलाई प्रश्न रहेको बताए।
‘के हो यो सामाजिक सञ्जाल नियमन विधेयक? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा? हिजो त तपाईंहरू यसको विपक्षमा उभिनुभएको थियो। आज कता हुनुहुन्छ? तपाइँहरू सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमैं परिवर्तन आइसकेको हो कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो? के हो तपाइँहरूको वैचारिकी?,’ उनले भने।
माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने कांग्रेस नेताहरूको अहिले बोलि फेरिएको प्रचण्डले उल्लेख गरे।
‘कांग्रेस एक्लै लड्छ, अब रुखबाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरूले धेरै ताली खाए,’ कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्ष्य गर्दै उनले भने, ‘पछिल्ला दिनमा एमालेमा अब देशमा जम्मा दुईवटा दल हुने हो र एक्लाएक्लै लडेर स्थायी सरकार बनाउने हो भन्ने विचारक पनि थपिए। देशबाट अब सदाका लागि गठबन्धनको राजनीति अन्त्य भयो भन्दै तपाइँहरूले नयाँ सत्तागठबन्धन गर्नुभयो। तर, गत स्थानीय निकायको उपचुनावमा के भयो? दुई ठूला दलबीच नै गठबन्धन भयो। गठबन्धनमात्र होइन, तपाइँहरूले एकअर्कालाई आफ्ना चुनाव चिह्न भाडामा पनि दिनुभयो। एउटा पार्टीको नेता अर्को पार्टीको चिन्हमा पनि चुनाव लड्नुभयो।’
कांग्रेसमा पहिले सुनिने गठबन्धनविरोधी गनगन र करकर यसपटक कतै नसुनिएको प्रचण्डको भनाइ छ।
‘पत्रकार र अरू व्यावसायिक संस्थाका चुनावमा पनि अद्भुत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो। तपाइँहरूलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ। सकियो त? सकिएन बरु लगभग पहिलो पार्टीका रुपमा पुनरोदय भयो,’ उनले भने।
यो पनि: संसदमा प्रचण्ड: प्रश्न सोध्दै, आफै जबाफ दिँदै