सहारा चितवन सहकारीको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ। चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस सकिएको हो।
बिहीबार लामिछाने पक्षबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र जगन्नाथ पौडेललगायतले बहस गरे। उनीहरूको बहसपछि सरकारी वकिलले जबाफी बसह सकेसँगै थुनछेक बहस सकिएको हो।
बहस सकिएपछि उक्त मुद्दामा लामिछानेलाई धरौटीमा छाड्ने कि थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने भन्ने न्यायाधीशले आदेश गर्नेछन्।
सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो।
१२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ। लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएको भन्दै चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरिएको थियो।
उनको स्थानमा बुटवलका उपन्यायाधीवक्ता रवि न्यौपानेलाई चितवन सरुवा गरिएको थियो।
गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनालाई भने दुवै मुद्दा चलाइएको छ।
गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेलाई ठगीको मुद्दामात्रै चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।
जिल्ला प्रहरीले भने रविलाई पनि दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
सरकारी वकिलको कार्यालय चितवनले रवि लामिछानेको संलग्नता गोरखा मिडियामा गएको रकमको चेक काट्ने बाहेकको संलग्नता नदेखिएकाले संगठित अपराधमा मुद्दा नचलाएको बताएको छ।
साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ।
यसअघि सूर्यदर्शन सहकारीको बचत अपचलनमा लामिछानेलाई ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख र रूपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा १ करोड धरौटीमा छाडेको थियो।